बीबीसी, सीएनएन, आइकिया र एयर फ्रान्ससहित विश्वका १७८ वेबसाइटमा साइबर आक्रमण

insight dainik

काठमाडौं । बीबीसी, सीएनएन, आइकिया, एयर फ्रान्स, जुमलगायत विश्वका चर्चित वेबसाइटहरू साइबर आक्रमणको निशानामा परेका छन्। ह्याकरहरूले प्रयोगकर्ताको वित्तीय विवरण चोरी गर्ने र एप्पलका उपकरणमा हानिकारक कोड पठाएर थप साइबर आक्रमण गर्ने उद्देश्यले यो हमला गरेको खुलासा भएको छ।

फ्रान्स २४ ले एएफपीलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचारअनुसार, करिब २०० ठूला वेबसाइटलाई लक्षित गरिएको यस साइबर आक्रमणबाट कम्तीमा १७८ वेबसाइट प्रभावित भएका छन्। आक्रमणकारीहरूले डिजिटल प्लेटफर्म Optimizely मा प्रयोग भएका JavaScript कोडमा हानिकारक सामग्री घुसाएर वेबसाइटका प्रयोगकर्तालाई निशाना बनाएका थिए।

Optimizely विभिन्न कम्पनीले आफ्ना वेबसाइटमा प्रयोगकर्ताको अनुभव अनुकूल बनाउन प्रयोग गर्ने डिजिटल प्लेटफर्म हो। यसै प्लेटफर्ममा रहेको सुरक्षा कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले वेबसाइटमा प्रयोग हुने उपकरणमार्फत प्रयोगकर्ताको संवेदनशील विवरण चोरी गर्ने प्रयास गरेका थिए।

सुरक्षा अनुसन्धानकर्ता स्कट हेल्मेका अनुसार आक्रमणको सूचीमा विश्वमै धेरै प्रयोग हुने वेबसाइटहरू समावेश छन्। तीमध्ये बीबीसी, सीएनएन, जुम, सेल्सफोर्स, गिटलैब, आइकिया, संयुक्त अरब इमिरेट्सको एचएसबीसी बैंक, इक्विफ्याक्स, एयर फ्रान्स–केएलएम, लेजर र पिकक रहेका छन्।

ह्याकरहरूले प्रयोगकर्ताका क्रेडिट कार्ड नम्बर, क्रिप्टोकरेन्सीसम्बन्धी विवरणलगायत वित्तीय सूचना चोरी गर्ने प्रयास गरेका थिए। साथै, एप्पलका उपकरणमा थप हानिकारक कोड पठाएर तिनलाई आफ्नो नियन्त्रणमा लिन सक्ने सम्भावित प्रयाससमेत गरिएको अनुसन्धानकर्ताले बताएका छन्।

स्कट हेल्मेका अनुसार नोभेम्बर १६ मा करिब नौ घण्टाको अवधिमा आक्रमणकारीसँग सम्बन्धित क्रिप्टोकरेन्सी वालेटमा करिब ७ हजार ४० अमेरिकी डलर जम्मा भएको थियो।

घटनाबारे जानकारी पाएपछि Optimizely ले सुरक्षा जोखिम पहिचान गरी नियन्त्रणमा लिएको जनाएको छ। कम्पनीका अनुसार जोखिमयुक्त प्रणालीको पहुँच बन्द गरिएको, वेबसाइटमा घुसाइएको हानिकारक कोड हटाइएको र प्रभावित ग्राहकहरूलाई प्रत्यक्ष जानकारी गराइएको छ।

सुरक्षा अनुसन्धानकर्ताका अनुसार प्रभावित अधिकांश वेबसाइटबाट हानिकारक कोड हटाइसकिएको छ। यद्यपि, घटनाले विश्वव्यापी डिजिटल सेवामा प्रयोग हुने तेस्रो पक्षका सफ्टवेयर र उपकरणको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्