काठमाडौंमा नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ हुँदै, १०० विदेशी फिल्मकर्मी सहभागी हुने

insight dainik

काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तथा नेपाललाई विश्वकै महत्वपूर्ण चलचित्र गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ आयोजना हुने भएको छ। आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा चार दिनसम्म महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।

नेपाल फिल्म एन्ड मिडिया एकेडेमीको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न देशका करिब १०० जना चलचित्र निर्माता, निर्देशक, सञ्चारकर्मी तथा चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तित्व सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार महोत्सवको पहिलो संस्करणका लागि विश्वका विभिन्न देशबाट ५०० भन्दा बढी फिचर फिल्म, लघु चलचित्र तथा वृत्तचित्र प्राप्त भएका छन्।

‘हिमालदेखि समुद्रसम्मका कथाहरूको उत्सव’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा छनोट भएका करिब १०० चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक गणेश पाण्डेले जानकारी दिएका छन्।

निर्देशक सुवर्ण थापाको नेतृत्वमा रहेको चलचित्र छनोट समितिले प्राप्त चलचित्रमध्ये उत्कृष्ट चलचित्र चयन गर्नेछ। निर्देशक अशोक शर्माको नेतृत्वमा रहने नेपाली तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ट चलचित्रलाई पुरस्कार तथा नगद राशिसहित सम्मान गर्नेछ।

महोत्सवमा फिचर फिल्म, लघु चलचित्र, वृत्तचित्र, पर्वतीय जीवन, वातावरण, मानवशास्त्र, मानवअधिकार, महिला केन्द्रित तथा आदिवासी जनजातिका कथा र संस्कृतिमा आधारित चलचित्रलाई प्राथमिकता दिइनेछ। त्यसैगरी एनिमेसन, विद्यार्थीले निर्माण गरेका चलचित्र र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चलचित्रलाई समेत विशेष प्राथमिकतामा राखिने आयोजकले जनाएको छ।

महोत्सवमा हलिउड, बलिउड तथा चिनियाँ चलचित्र उद्योगका चर्चित व्यक्तित्वहरूलाई अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भइरहेको छ। आयोजक समितिका सदस्य फूलमान बलका अनुसार चार दिनसम्म चलचित्र प्रदर्शन, विशेष सम्मान, अन्तरक्रिया, चलचित्र कार्यशाला, प्यानल छलफल तथा अन्तर्राष्ट्रिय नेटवर्किङ कार्यक्रम सञ्चालन गरिनेछ।

यस महोत्सवले नेपाली चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपाली चलचित्रको बजार विस्तार गर्ने तथा नेपालको कला, संस्कृति, पर्यटन र मौलिक कथालाई विश्वमाझ परिचित गराउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्