अमेरिकामा नेपाली मूलका गहना पसल सञ्चालकको गोली हानी हत्या, तीन सन्तानका पिता तारा सिन्चुरीको मृत्यु

insight dainik

काठमाडौं। अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा नेपाली मूलका गहना पसल सञ्चालक तारा सिन्चुरीको गोली हानी हत्या भएको छ। मंगलबार दिउँसो लुटपाटका क्रममा भएको गोली प्रहारबाट ५२ वर्षीय सिन्चुरीको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम डब्लुएलडब्ल्यूटी (WLWT) ले जनाएको छ।

फेयरफिल्डको डिक्सी हाइवेमा रहेको ‘एभरेस्ट ज्वेल्स’ नामक गहना पसलमा घटना भएको हो। प्रहरी घटनास्थलमा पुग्दा सिन्चुरी पसलभित्र मृत अवस्थामा फेला परेका थिए। उनी नेपाली आप्रवासी, परिवारका जिम्मेवार सदस्य तथा तीन सन्तानका पिता रहेको समाचारमा उल्लेख छ।

घटना मंगलबार दिउँसो करिब १ बजे भएको थियो। पसलको छेउमा काम गर्ने एन्डी फिजेनमायरले गोली चलेको आवाज सुनेपछि आफ्ना कर्मचारीलाई सुरक्षित रहन भुइँमा बस्न भनेका थिए। गोली प्रहारका कारण नजिकैको भवनको सिसासमेत फुटेको थियो।

फिजेनमायरका अनुसार गोलीमध्ये एउटा उनको कार्यालयको भित्तामा छिरेको थियो। यद्यपि, उनको भवनभित्र रहेका कुनै पनि व्यक्ति घाइते भएनन्। घटनाका बेला उनका दुई कर्मचारी काम गरिरहेका थिए। तीमध्ये एक कर्मचारी घटनापछि गम्भीर मानसिक त्रासमा परेको उनले बताएका छन्।

दिनदहाडै र अन्य मानिसको उपस्थितिमा भएको गोलीकाण्डले स्थानीय समुदायलाई त्रसित बनाएको छ। घटनापछि आसपासका व्यवसायी तथा स्थानीय बासिन्दामा असुरक्षाको भावना बढेको समाचारमा उल्लेख छ।

घटनामा संलग्न भएको आशंकामा समाचार प्रकाशित हुँदासम्म कसैलाई पक्राउ गरिएको थिएन। प्रहरीले कुनै संदिग्ध व्यक्तिको नामसमेत सार्वजनिक गरेको थिएन। अनुसन्धानमा फेयरफिल्ड प्रहरीलाई अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले सहयोग गरिरहेको छ। त्यस्तै, अमेरिकी मदिरा, सुर्ती, हतियार तथा विस्फोटक पदार्थसम्बन्धी निकाय (एटीएफ) ले पनि अनुसन्धानमा सहयोग गर्ने प्रस्ताव गरेको छ।

छिमेकी व्यवसायी फिजेनमायरले मृतकको परिवारप्रति समवेदना व्यक्त गर्दै आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्