काठमाडौं । बेलायतबाट नेपाल फिर्ता गरिएको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महागौरी/पार्वती देवीको मूर्तिलाई पुनः स्थापना गर्ने तयारी गरिएको छ। लामो समयदेखि राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा सुरक्षित रूपमा राखिएको उक्त मूर्ति अब विश्व सम्पदा दिवसको अवसर पारेर आफ्नो मूल स्थानमा पुनः प्रतिष्ठा गरिने भएको हो।
यस महत्वपूर्ण अवसरमा भोलि विशेष कार्यक्रम आयोजना गरिने भएको छ। कार्यक्रम काठमाडौं महानगरपालिकाको पहलमा विभिन्न सरकारी तथा स्थानीय निकायको सहकार्यमा सञ्चालन हुनेछ। आयोजनामा पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डा, राष्ट्रिय सङ्ग्रहालय छाउनी, तथा पुरातत्व विभाग अन्तर्गतका विभिन्न शाखाहरूको मुख्य भूमिका रहने बताइएको छ। साथै, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन विभाग, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, शाइदल जर्म समूह लगायत संस्थाहरूको पनि सहकार्य रहनेछ।
कार्यक्रममा गुठी संस्थान, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति, स्थानीय टोल विकास समूह, शस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायतका निकायहरूको सक्रिय सहभागिता रहने जनाइएको छ। यसका अतिरिक्त स्थानीय स्तरमा मरु टोल सुधार समिति, प्राचीन स्मारक संरक्षण अध्ययन समाज, प्रकाश मणि शर्मा एकेडेमी फर पब्लिक इन्टरस्ट, नमुना फाउन्डेसन जस्ता संस्थाहरूले पनि सहयोग गर्नेछन्।
कार्यक्रमको संयोजन वडा अध्यक्ष राजेन्द्र मानन्धरको नेतृत्वमा भइरहेको छ भने काठमाडौं महानगरपालिका वडा नं. २० तथा स्थानीय बासिन्दाहरूको पनि उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
विशेषगरी, २०५२ सालमा बेलायतबाट नेपाल फिर्ता ल्याइएको उक्त महागौरी/पार्वती देवीको मूर्ति ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। लामो समयसम्म सङ्ग्रहालयमा राखिएको यो मूर्ति अब पुनः मन्दिरमा स्थापना गरिन लागिएकोले स्थानीय बासिन्दा तथा सम्पदा संरक्षणकर्मीहरू उत्साहित देखिएका छन्।
कार्यक्रम भोलि दिउँसो ३ बजे राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा आयोजना गरिनेछ। आयोजकहरूले यस ऐतिहासिक क्षणमा सहभागी भई कार्यक्रमको गरिमा बढाउन सम्पूर्ण सरोकारवालाहरू तथा सर्वसाधारणलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।
यो पुनःस्थापना कार्यक्रमले नेपालको हराउँदै गएका सम्पदाहरूको संरक्षण तथा पुनःस्थापनामा थप ऊर्जा दिने विश्वास गरिएको छ। साथै, विदेशी मुलुकबाट फिर्ता ल्याइएका पुरातात्विक वस्तुहरूको संरक्षण र व्यवस्थापनमा पनि सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।