मूल्यसूची देखिने ठाउँमा राख्न निर्देशन, नियम उल्लङ्घन गर्नेलाई कानुनी कारबाही हुने चेतावनी
काठमाडौं । राजमार्गमा यात्रा गर्ने यात्रु तथा उपभोक्तालाई लक्षित गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले होटल, रेस्टुरेन्ट र खाजा घरलाई सेवा तथा मूल्यमा पारदर्शिता कायम गर्न निर्देशन दिएको छ। विभागले देशभरका राजमार्ग तथा आसपासका क्षेत्रमा सञ्चालित खाद्य सेवा प्रदायक व्यवसायलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल दिन र खाद्य स्वच्छतामा विशेष ध्यान दिन आग्रह गरेको हो।
विभागले सार्वजनिक सूचना जारी गर्दै होटल तथा रेस्टुरेन्टबाट प्राप्त सेवा र खाद्यवस्तुको मूल्य, गुणस्तर तथा सरसफाइसम्बन्धी उपभोक्ताका गुनासा र उजुरीप्रति ध्यानाकर्षण भएको जनाएको छ। यात्राका क्रममा उपभोक्ता ठगीमा पर्ने, तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपर्ने तथा अस्वच्छ खाना खानुपर्ने अवस्थालाई निरुत्साहित गर्न यस्तो निर्देशन दिइएको हो।
मूल्यसूची सबैले देख्ने ठाउँमा राख्नुपर्ने
विभागका अनुसार होटल तथा रेस्टुरेन्टले ग्राहकले सजिलै देख्न सक्ने स्थानमा वस्तु तथा सेवाको मूल्यसूची राख्नुपर्नेछ। बिक्री गरिएका खाद्यवस्तु र प्रदान गरिएका सेवाको वास्तविक मूल्य स्पष्ट हुने गरी ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
यसबाट यात्रुले आफूले उपभोग गरेको खाना तथा सेवाको मूल्यबारे जानकारी पाउनुका साथै अनावश्यक शुल्क असुली भएमा त्यसको प्रमाणसमेत प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
खाना, भान्सा र शौचालयको सरसफाइमा जोड
विभागले खाद्यवस्तुको तयारी, भण्डारण र बिक्रीवितरण गर्दा स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न व्यवसायीलाई निर्देशन दिएको छ। भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी र शौचालय सफा राख्नुपर्ने तथा म्याद गुज्रिएका, दूषित वा खान अयोग्य खाद्यवस्तु बिक्री गर्न नपाइने स्पष्ट पारेको छ।
उल्लङ्घन गरे कारबाही
उपभोक्तालाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा दिन आग्रह गर्दै विभागले अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
विभागको यो कदम प्रभावकारी रूपमा कार्यान्वयन भए राजमार्गका होटलमा मूल्यको पारदर्शिता बढ्नुका साथै यात्रुले उचित मूल्यमा सुरक्षित र स्वच्छ खाना पाउने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्