भारतमा यतिबेला अत्यधिक गर्मी र ‘लु’ का कारण जनजीवन कष्टकर बन्दै गएको छ। विशेषगरी उत्तर भारतका विभिन्न राज्यहरूमा तापक्रम लगातार बढेपछि मानिसहरू घरबाहिर निस्कनसमेत डराउन थालेका छन्। भारतीय मौसम विभागले उत्तर प्रदेश, दिल्ली, राजस्थान, हरियाणा र मध्यप्रदेशका केही क्षेत्रमा रेड तथा ओरेन्ज अलर्ट जारी गरेको छ।
उत्तर प्रदेशको प्रयागराजमा तातो घामका कारण एउटा अनौठो दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ। प्रयागराजको कौशाम्बी क्षेत्रका एक इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो घरको छतमाथि अण्डा फ्राइ गरेको भिडियो पोस्ट गरेका हुन्। भिडियोमा दिउँसोको समयमा घामले अत्यधिक तातेको छतमा तोरीको तेल राखेर काँचो अण्डा फुटाउँदा केही सेकेन्डमै पाक्न थालेको देखिन्छ।
भिडियोमा कुनै चुलो, ग्यास वा आगो प्रयोग गरिएको छैन। केवल सूर्यको चर्को तापका कारण अण्डाको सेतो भाग जमेर फ्राइ हुन थालेको स्पष्ट देखिन्छ। उक्त भिडियो भाइरल बनेपछि भारतमा बढ्दो गर्मीको अवस्था कति भयावह बनेको छ भन्ने विषय पुनः चर्चामा आएको छ।
भारतका प्रमुख शहरहरूको तापक्रम पनि अत्यधिक उच्च रहेको छ। राजस्थानको श्रीगंगानगरमा तापक्रम ४७ डिग्री सेल्सियससम्म पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दिल्लीमा ४५ डिग्री, प्रयागराजमा ४६ डिग्री, कानपुरमा ४५ डिग्री, लखनउमा ४३ डिग्री, जयपुरमा ४४ डिग्री तथा भोपालमा ४२ डिग्री सेल्सियस आसपास तापक्रम मापन गरिएको छ।
गर्मीका कारण सडकहरू सुनसान बन्न थालेका छन् भने अस्पतालहरूमा डिहाइड्रेसन, टाउको दुख्ने, चक्कर लाग्ने तथा हिट स्ट्रोकका बिरामीको संख्या बढ्न थालेको छ। मौसम विभागले अत्यावश्यक कामबाहेक दिउँसो बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा बालबालिका र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।