काठमाडौंमा दोस्रो संस्करणको काठमाडौं हरर फिल्म फेस्टिभल आयोजना हुने भएको छ। फेस्टिभल अक्टोबर ३० देखि नोभेम्बर १, २०२६ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।
फेस्टिभलमा विभिन्न देशबाट चयन भएका २६ वटा फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त भएका हरर, थ्रिलर, अलौकिक, डार्क फेन्टासी तथा लोककथामा आधारित फिल्ममध्येबाट ती फिल्म छनोट भएका हुन्।
छनोट भएका २६ फिल्ममध्ये ८ वटा फिचर फिल्म र १८ वटा छोटा फिल्म रहेका छन्। ती फिल्महरू २१ देशका हुन्। छनोट सूचीमा पाँचवटा नेपाली फिल्म वा नेपाली सह–निर्माणका फिल्म पनि समावेश छन्।
फेस्टिभलको मुख्य कार्यक्रम काठमाडौंस्थित रूसी हाउस काठमाडौंमा हुनेछ। रूसी हाउस पहिलो संस्करणदेखि नै फेस्टिभलको स्थल साझेदारका रूपमा रहँदै आएको छ।
काठमाडौं हरर फिल्म फेस्टिभल नेपाल एकेडेमी अफ फिल्म एन्ड कल्चरले आयोजना गरेको हो। सन् २०२५ मा पहिलो संस्करणबाट सुरु भएको फेस्टिभलले नेपाली फिल्मकर्मीलाई स्थानीय लोककथा, मिथक, परम्परा र सांस्कृतिक कथावस्तुमा आधारित हरर तथा अन्य विधाका फिल्म निर्माण गर्न प्रोत्साहित गर्दै आएको छ।
यससँगै विश्वका विभिन्न देशमा निर्माण भएका विधागत फिल्म नेपाली दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्य पनि फेस्टिभलले राखेको छ। तीनदिने कार्यक्रममा हरर, थ्रिलर, अलौकिक, डार्क फेन्टासी तथा लोककथामा आधारित २६ फिल्म प्रदर्शन हुनेछन्।
फेस्टिभलले नेपालमा हरर तथा विधागत चलचित्रको संस्कृति विस्तार गर्नुका साथै नेपाली मौलिक कथा, मिथक र लोकपरम्परालाई चलचित्रमार्फत अन्तर्राष्ट्रिय दर्शकसँग जोड्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्