नयाँदिल्ली । भारतको नयाँदिल्लीमा २६ वर्षीय एक पुरुषको शरीरभित्र पाठेघर र फलोपियन ट्युब भेटिएपछि चिकित्सकहरू नै अचम्ममा परेका छन्। विवाह भएको दुई वर्षसम्म सन्तान नभएपछि उपचारका लागि अस्पताल पुगेका ती पुरुषको परीक्षण गर्दा यस्तो दुर्लभ जन्मजात अवस्था पत्ता लागेको हो।
बाहिरबाट हेर्दा उनी सामान्य पुरुषजस्तै थिए। पुरुषमा देखिने शारीरिक तथा यौन विकास पनि सामान्य थियो। तर, शरीरभित्र भने ‘सरप्राइज’ लुकेको रहेछ।
दिल्लीका युरोलोजिस्ट डा. सुशील खरबन्दाका अनुसार परीक्षणका क्रममा उनका दुवै अण्डकोष सामान्य स्थानमा नभएको भेटियो। हर्मोन परीक्षणमा टेस्टोस्टेरोन, एफएसएच र एलएच सामान्य देखिए पनि वीर्य परीक्षणमा शुक्रकीट नै नभएको अर्थात् एजोस्पर्मिया देखियो।
त्यसपछि गरिएको एमआरआईले झन् रोचक तथ्य देखायो। शरीरभित्र पाठेघर र दुवैतर्फ फलोपियन ट्युबसहित अण्डकोष जोडिएको संरचना भेटियो। थप परीक्षण गर्दा उनको क्रोमोजोम ४६,XY रहेको पुष्टि भयो।
चिकित्सकहरूले यसलाई Persistent Müllerian Duct Syndrome (PMDS) नामक अत्यन्त दुर्लभ जन्मजात अवस्था भएको बताएका छन्। सामान्यतः पुरुष भ्रूणमा बन्ने ‘एन्टी–मुलरियन हर्मोन’ले पाठेघर र फलोपियन ट्युब बन्न रोक्छ। तर PMDS मा उक्त हर्मोन नबन्ने वा त्यसको रिसेप्टरले काम नगर्दा यी अंग शरीरभित्र रहन सक्छन्।
तर यसको अर्थ ती पुरुष गर्भवती हुन सक्छन् वा महिनावारी हुन्छ भन्ने होइन। भेटिएका पाठेघर र फलोपियन ट्युब अविकसित थिए र गर्भधारण सम्भव थिएन।
चिकित्सकका अनुसार यी अंगमा भविष्यमा क्यान्सरको जोखिमसमेत हुन सक्ने भएकाले शल्यक्रिया गरेर हटाइएको छ। शल्यक्रियापछि उनी सात दिनमै काममा फर्किएका थिए।
अहिले भने उनको शरीरले पर्याप्त टेस्टोस्टेरोन उत्पादन नगर्ने भएकाले चिकित्सकीय निगरानीमा नियमित टेस्टोस्टेरोन उपचार आवश्यक पर्ने बताइएको छ।
डाक्टरहरूका अनुसार यो घटनाले शरीरमा असामान्य संरचना वा अण्डकोषको स्थान असामान्य देखिएमा लाज नमानी समयमै विशेषज्ञ चिकित्सकसँग जाँच गराउनुपर्ने सन्देश दिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्