काठमाडौं । मेडिकल व्यवसायी तथा सार्वजनिक अभिव्यक्तिका कारण पटक–पटक विवादमा आउने दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले सोमबार बिहान उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रसाईंलाई पछिल्ला दिनमा दिएका अभिव्यक्तिका विषयमा सोधपुछ गर्न पक्राउ गरिएको हो। उनको पक्राउसँगै पछिल्ला केही वर्षमा उनी पटक–पटक प्रहरी अनुसन्धान र कानुनी प्रक्रियामा तानिएको विषय पनि चर्चामा आएको छ।
यसअघि भदौ २९ गते झापाबाट काठमाडौं आएका प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा कार्यक्रम गर्न खोजेका थिए। प्रहरीले विमानस्थल परिसरमा कार्यक्रम गर्न नमिल्ने भन्दै उनलाई नियन्त्रणमा लिएर घर पठाएको थियो।
पछिल्लो समय प्रसाईंले सामाजिक तथा राजनीतिक विषयमा विभिन्न अभिव्यक्ति दिँदै आएका थिए। उनका कतिपय अभिव्यक्तिलाई लिएर उजुरी तथा कारबाहीको मागसमेत हुँदै आएको छ। यही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले प्रतिनिधिसभाको विशेष समयमा प्रसाईंमाथि कारबाहीको माग गरेकी थिइन्।
सांसद खतिवडाले प्रसाईंले आफू र आफ्नो परिवारका विषयमा लगाएका आरोपको खण्डन गर्दै संसदमा भावुक अभिव्यक्ति दिएकी थिइन्। उनले प्रसाईंले आफ्नो छोराको शवसँग सांसद पद साटेको आरोप लगाएको बताउँदै उक्त आरोपप्रति आपत्ति जनाएकी थिइन्।
प्रसाईं पछिल्ला वर्षहरूमा राजसंस्था, राजनीतिक नेतृत्व, सरकार तथा विभिन्न सार्वजनिक व्यक्तिमाथि आक्रामक अभिव्यक्ति दिँदै चर्चामा आउने गरेका छन्। उनका गतिविधि र अभिव्यक्तिका कारण उनीमाथि विभिन्न समयमा प्रहरी अनुसन्धान, पक्राउ तथा कानुनी प्रक्रिया अघि बढेको देखिन्छ।
हालको पक्राउ भने साइबर ब्युरोले पछिल्ला अभिव्यक्तिबारे अनुसन्धान तथा सोधपुछका लागि गरेको प्रहरीले जनाएको छ। पक्राउपछि उनीमाथि थप अनुसन्धान र कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय प्रहरी अनुसन्धानबाट स्पष्ट हुनेछ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्