काठमाडौं । संघीय संसद भवनमा सांसदहरूका लागि सञ्चालन हुँदै आएको क्यान्टिन बन्द भएपछि अहिले संसद परिसरमा खाजा–खानाको विषय चर्चामा आएको छ। सांसदहरूका लागि सञ्चालित क्यान्टिनमा खाद्यवस्तुको मूल्य महँगो भएको विषय प्रतिनिधिसभाको बैठकमै उठेपछि क्यान्टिन बन्द गरिएको हो।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले संसदको क्यान्टिनमा खाद्यवस्तुको मूल्य महँगो भएको विषय उठाएका थिए। उनले क्यान्टिनमा उपलब्ध खानेकुराको मूल्यबारे प्रश्न उठाएपछि त्यसको भोलिपल्टै क्यान्टिन बन्द गरिएको स्रोत न्युजले जनाएको छ।
क्यान्टिन बन्द भएपछि त्यहाँ नियमित रूपमा खाना तथा खाजा खाने सांसद र संसदका कर्मचारी प्रभावित भएका छन्। अब संसद परिसरमा खाजा तथा खाना खानका लागि उनीहरूले अन्य विकल्प खोज्नुपर्ने भएको छ।
क्यान्टिनको मूल्यलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न टिप्पणी हुँदै आएका छन्। सामान्य खाजा तथा पेय पदार्थको मूल्यलाई लिएर प्रश्न उठिरहेका बेला कतिपयले संसदभित्रको क्यान्टिनलाई व्यंग्य गर्दै ‘पाँचतारे होटल’को संज्ञासमेत दिएका छन्।
विशेषगरी एक कप कालो चियाको मूल्य १०० रुपैयाँ लिइएको दाबीलाई लिएर सामाजिक सञ्जालमा चर्चा भएको छ। यद्यपि, क्यान्टिनका सबै वस्तुको मूल्यसूची र उक्त मूल्यको आधिकारिक विवरण भने सार्वजनिक रूपमा स्पष्ट भएको छैन।
क्यान्टिन बन्द भएपछि अब सांसदहरूले संसद भवनभित्रै खाजा खाने अर्को व्यवस्था कहिले पाउँछन् भन्ने प्रश्न उठेको छ। संसदको बैठक चलिरहेका बेला सांसद र कर्मचारीका लागि खाना तथा खाजाको व्यवस्था कसरी गर्ने भन्ने विषय पनि चासोको विषय बनेको छ।
यससँगै सामाजिक सञ्जालमा व्यंग्यात्मक प्रश्न उठ्न थालेको छ—‘सांसदका लागि क्यान्टिन बन्द भयो, अब माननीयज्यूहरूले खाजा खान कहाँ जाने होला?’
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्