एनभिडियाका प्रमुखमाथि चिनियाँ जासुससँग सम्बन्धको आरोप, कम्पनीद्वारा स्वतन्त्र अनुसन्धान सुरु

insight dainik

अमेरिकी प्रविधि कम्पनी एनभिडिया (Nvidia) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक महिलासँग व्यक्तिगत सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि कम्पनीले स्वतन्त्र अनुसन्धान सुरु गरेको छ।

बीबीसीका अनुसार अमेरिकी गुप्तचर निकायहरूले चिनियाँ व्यवसायी महिला एलिस हुआङलाई बेइजिङका लागि काम गर्ने जासुसका रूपमा निगरानी गरिरहेको दाबी गरेका छन्। एलिस र एनभिडियाका प्रमुख जेन्सेन हुआङबीच निकट सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि कम्पनीको सञ्चालक समितिले अनुसन्धान अघि बढाएको हो। दुवैबीच पारिवारिक सम्बन्ध भने नरहेको बताइएको छ।

एनभिडियाको सञ्चालक समितिले हालसम्म कम्पनीका गोप्य प्रविधि, व्यापारिक सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी जानकारी चुहिएको कुनै प्रमाण नपाएको जनाएको छ। यद्यपि, विदेशी गुप्तचर गतिविधिसम्बन्धी सार्वजनिक भएका विवरणलाई गम्भीरतापूर्वक लिँदै उपलब्ध सबै सूचनाको स्वतन्त्र छानबिन गरिने कम्पनीले स्पष्ट पारेको छ।

यसैबीच, जेन्सेन हुआङले आफ्नो वैवाहिक सम्बन्धमा बेइमानी गरेको स्वीकार गर्दै पत्नी र छोराछोरीसँग सार्वजनिक रूपमा माफी मागेका छन्। उनले आफ्नो व्यवहारका कारण परिवारलाई चोट पुगेको स्वीकार गर्दै कुनै बहाना नभएको बताएका छन्। साथै, कम्पनीका कर्मचारी, सञ्चालक समिति र शेयरधनीप्रतिको जिम्मेवारीमा समेत आफू चुकेको उनको भनाइ छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङलाई सम्मानित व्यक्ति भन्दै उनले अमेरिकाका लागि उल्लेखनीय काम गरेको प्रतिक्रिया दिएका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन्।

अमेरिकी गुप्तचर निकायहरूले एलिस हुआङको सञ्चार गतिविधि निगरानी गर्ने क्रममा एक अमेरिकी नागरिकसँगको सम्पर्क पहिचान गरेको र पछि ती व्यक्ति जेन्सेन हुआङ भएको खुलेको न्यूयोर्क टाइम्सको रिपोर्टमा उल्लेख छ। यद्यपि, एलिसले चीनलाई कुन प्रकारको सूचना उपलब्ध गराएको आशंका गरिएको हो भन्ने विषय अझै स्पष्ट भएको छैन।

उता चीनले आफ्ना नागरिकमाथि लगाइएको जासुसीसम्बन्धी आरोपलाई निराधार र चीनलाई बदनाम गर्ने उद्देश्यले फैलाइएको अड्कलबाजी भन्दै अस्वीकार गरेको छ।

एनभिडिया विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक हो। कृत्रिम बुद्धिमत्ता (एआई) विकासका लागि आवश्यक अत्याधुनिक चिप उत्पादनमा कम्पनीको महत्वपूर्ण भूमिका छ। करिब ४५ खर्ब अमेरिकी डलर बजार मूल्य रहेको कम्पनीका चिपहरू ओपनएआई र मेटाजस्ता प्रविधि कम्पनीहरूले समेत प्रयोग गर्दै आएका छन्।

यस घटनाले अमेरिका–चीनबीचको प्रविधि प्रतिस्पर्धा, राष्ट्रिय सुरक्षा र विश्वव्यापी एआई उद्योगमा थप बहस सिर्जना गरेको छ। अमेरिकी संसद्का केही रिपब्लिकन सांसदहरूले समेत हुआङलाई विदेशी जासुसीबाट प्रविधि सुरक्षा गर्ने कम्पनीको नीतिबारे जवाफ दिन उपस्थित हुन आग्रह गरेका छन्।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्