काठमाडौं । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ। भारत सरकारका अनुसार करिब ६०४ किलोमिटर दूरी समेट्ने उक्त रेल सेवाले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा यातायात सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
भारतीय रेल मन्त्रालयले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार नयाँ रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ। सेवा सातामा एकपटक सञ्चालन गर्ने योजना छ। रेल जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार प्रस्थान गर्नेछ।
यद्यपि, रेल सेवाको व्यावसायिक सञ्चालन कहिलेदेखि सुरु हुने भन्ने मिति भने सार्वजनिक गरिएको छैन।
रेल मन्त्रालयका अनुसार यो सेवा रामायण परम्परासँग गहिरो सम्बन्ध राख्ने दुई धार्मिक स्थललाई जोड्ने महत्वपूर्ण माध्यम हुनेछ। जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् श्रीरामको जन्मस्थलका रूपमा मानिन्छ। यी दुई तीर्थस्थलबीच सीधा रेल सम्पर्क स्थापित हुँदा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ।
रेलले नेपाल र भारतका विभिन्न सहर तथा बस्ती हुँदै यात्रा गर्नेछ। भारततर्फ जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने व्यवस्था रहने जनाइएको छ। नेपालतर्फका अन्य व्यावसायिक स्टपेजबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
भारतको रेल मन्त्रालयले नयाँ सेवाले दुवै देशका पर्यटक, तीर्थयात्री तथा सर्वसाधारणलाई आवतजावत सहज बनाउने जनाएको छ। यसबाट धार्मिक यात्रासँगै शिक्षा, व्यापार तथा पारिवारिक प्रयोजनका लागि सीमापार यात्रा गर्ने यात्रुलाई पनि सुविधा पुग्ने अपेक्षा गरिएको छ।
नेपाल र भारतबीच शताब्दीयौँ पुराना सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहँदै आएका छन्। नयाँ रेल सेवाले दुई देशका नागरिकबीचको सम्पर्क विस्तार गर्नुका साथै रामायण पर्यटन सर्किट विकासमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्