एनपीएलको प्लेअफ समीकरण पूरा, उपाधिका लागि चार टोली भिड्दै

insight dainik

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लिग चरणका खेल सम्पन्न भएसँगै प्लेअफमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। आइतबार पोखरा एभेन्जर्सले काठमाडौँ गोर्खाजलाई ५५ रनले पराजित गरेपछि प्लेअफको समीकरण पूरा भएको हो।

पोखराले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाज १९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनमा समेटिएको थियो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२४ रन बनाएको थियो।

लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा भिड्ने भएका छन्। त्यस्तै, काठमाडौँ गोर्खाज र चितवन राइनोजबीच इलिमिनेटर खेल हुनेछ।

एनपीएलको प्लेअफ तथा फाइनल तालिका

मिति

खेल

प्रतिस्पर्धी टोली

नोभेम्बर १७, मंगलबार

पहिलो क्वालिफायर

लुम्बिनी लायन्स विरुद्ध सुदूरपश्चिम रोयल्स

नोभेम्बर १८, बुधबार

इलिमिनेटर

काठमाडौँ गोर्खाज विरुद्ध चितवन राइनोज

नोभेम्बर १९, बिहीबार

दोस्रो क्वालिफायर

पहिलो क्वालिफायरमा पराजित टोली विरुद्ध इलिमिनेटर विजेता

नोभेम्बर २१, शनिबार

फाइनल

पहिलो र दोस्रो क्वालिफायरका विजेता

पहिलो क्वालिफायरमा विजयी हुने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।

इलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। दोस्रो क्वालिफायर जित्ने टोलीले फाइनलमा पहिलो क्वालिफायरको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यससँगै एनपीएलको तेस्रो संस्करणको उपाधि दौड चार टोलीमा सीमित भएको छ। अब लुम्बिनी, सुदूरपश्चिम, काठमाडौँ र चितवनमध्ये कुन टोलीले उपाधि जित्छ भन्ने चासो क्रिकेटप्रेमीमा बढेको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्