चीनको १९ सिटे विद्युतीय विमान 'सीई-२५ए' ले पायलटसहित पहिलो उडान सफल गर्‍यो

insight dainik

चीनमा स्वदेशमै विकास गरिएको विद्युतीय यात्रुवाहक विमान 'सीई-२५ए' ले पहिलो पटक पायलट सवार भएर सफल उडान गरेको छ। चीनको विमान निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना (कोम्याक) का अनुसार शनिबार, नोभेम्बर १४ का दिन शान्दोङ प्रान्तको बिनझाउ सहरमा यो परीक्षण उडान भएको हो। विद्युतीय उड्डयन क्षेत्रमा चीनले हासिल गरेको महत्त्वपूर्ण उपलब्धिका रूपमा यसलाई हेरिएको छ।

उडानमा दुई पायलट र एक उडान परीक्षण इन्जिनियर सवार थिए। कोम्यापकले विमानले सामान्य रूपमा काम गरेको र सबै प्रमुख प्राविधिक सूचकहरू अपेक्षित स्तरमा पुगेको जनाएको छ। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कुल परीक्षण समय करिब ५८ मिनेट रहेको र विमान हावामा १६ मिनेटभन्दा केही बढी उडेको उल्लेख गरेका छन्।

सीई-२५ए मुख्यतः छोटो दूरीमा सहरहरूबीच व्यावसायिक उडान सञ्चालन गर्ने उद्देश्यले बनाइएको हो। यसमा बढीमा १९ जना यात्रु बस्न सक्छन्। विमानको अधिकतम उडान तौल १० टन छ भने यसले प्रति घण्टा करिब ३०० किलोमिटरको गतिमा उड्न सक्छ। एक पटकको चार्जमा करिब ४०० किलोमिटरसम्म उड्न सक्ने यो विमानको उडान उचाइ लगभग २ हजार ४०० मिटर रहने बताइएको छ। यसमा पखेटामा जडान गरिएको वितरित विद्युतीय डक्टेड प्रोपल्सन प्रणाली प्रयोग गरिएको छ।

यो विमान कोम्याकको पहिलो विद्युतीय व्यावसायिक विमान हो, जसलाई ब्याट्री निर्माता कम्पनी सीएटीएल, साङ्घाई जियाओ थोङ विश्वविद्यालय तथा अन्य साझेदारको सहकार्यमा विकास गरिएको हो।

यसअघि यही विमानले यस वर्षको फेब्रुअरी २ मा चालकविहीन पहिलो उडान गरेको थियो। त्यसपछि १९ वटा मानवरहित स्वचालित परीक्षण उडान सम्पन्न गरेर मात्र पायलटसहितको चरणमा प्रवेश गरिएको हो।

विमानले प्रमाणीकरण प्रक्रियामा प्रवेश गरिसकेको छ। चीनको नागरिक उड्डयन प्रशासनले कोम्याकले दिएको टाइप सर्टिफिकेट आवेदन स्वीकार गरेको छ। तर यो विमानले अहिलेसम्म व्यावसायिक सञ्चालनको अनुमति पाइसकेको छैन, त्यसैले यात्रु बोकेर नियमित उडान सुरु हुन अझै समय लाग्ने देखिन्छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्