म्याग्दी पहिरोमा पाँच वर्षीया बालिकासहित ६ जनाको मृत्यु, ७८ जनाको उद्धार

insight dainik

म्याग्दीमा लगातारको वर्षासँगै विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच वर्षीया बालिकासहित ६ जनाको मृत्यु भएको छ। पहिरोमा परी तीन जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका १९ वर्षीय सविन गर्बुजा, अन्नपूर्ण गाउँपालिका–३ फगामकी ५४ वर्षीया योमाया पाइजा, मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र सोही स्थानका २८ वर्षीय देवबहादुरको शव फेला परेको छ।

यस्तै, अन्नपूर्ण गाउँपालिका–६ गिवाङकी पाँच वर्षीया जेनी पुर्जा र अन्नपूर्ण गाउँपालिका–३ फगामकी ७५ वर्षीया शिलकुमारी गर्बुजाको पनि शव फेला परेको प्रहरीले जनाएको छ।

पहिरोपछि अन्नपूर्ण गाउँपालिका–६ गिवाङका ७५ वर्षीय ओमबहादुर तिलिजा, अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका २१ वर्षीय मनोज गर्बुजा र बेनी नगरपालिका–३ भकिम्ली छेपारेकी कुमारी विक बेपत्ता छन्। प्रहरीले मनोज गर्बुजाको अवस्थाबारे अझै यकिन हुन नसकेको जनाएको छ।

यसैबीच, नेपाली सेनाको हेलिकप्टरको सहयोगमा पहिरो तथा बाढी प्रभावित क्षेत्रबाट ७८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार र राहत वितरणको काम भइरहेको प्रहरीले जनाएको छ।

लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाने क्रम जारी रहेकाले थप सतर्कता अपनाउन आग्रह गरिएको छ। पहिरोका कारण बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डका विभिन्न स्थानमा यातायात अवरुद्ध भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्