चितवन । नवलपुर जोड्ने नारायणी नदीको पुलमा बाढीले बगाएको क्रुज जहाज अड्किएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गतको सडक आवागमन प्रभावित भएको छ।
नवलपुरको गैँडाकोट–२ स्थित बोटे टोल नजिक नदी किनारमा राखिएको क्रुज जहाजलाई नारायणी नदीको तीव्र बहावले बगाएर पुलतर्फ ल्याएको हो। बाढीले बगाएको जहाज पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको जनाइएको छ।
जहाज पुलको पिलरमा अड्किएपछि पुलको संरचनामा क्षति पुग्न सक्ने जोखिम देखिएको भन्दै सुरक्षाका लागि सवारी आवागमन रोकिएको छ। नदीमा पानीको बहाव तीव्र रहेकाले जहाज हटाउने कामसमेत चुनौतीपूर्ण बनेको छ।
नारायणी नदीमा पानीको सतह बढेसँगै यसअघि नै पुलमा भारी सवारीसाधनको आवागमनमा प्रतिबन्ध लगाइएको थियो। पछिल्लो घटनापछि पुलको अवस्था थप संवेदनशील बनेको भन्दै सुरक्षाकर्मीले पुलमा आवतजावत नियन्त्रण गरेका छन्।
प्रहरी तथा सम्बन्धित निकायले पुल र जहाजको अवस्थाबारे निगरानी गरिरहेका छन्। जहाजका कारण पुलको पिलरमा क्षति पुगेको वा नपुगेको विषयमा प्राविधिक निरीक्षणपछि मात्र यकिन हुने बताइएको छ।
नदीमा आएको बाढी र तीव्र बहावका कारण नारायणी आसपासका क्षेत्रमा समेत जोखिम बढेको छ। स्थानीय प्रशासनले नदी किनारमा नजान र सम्भावित जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।
पुलमा सवारी आवागमन रोकिएपछि चितवन र नवलपुर हुँदै पूर्व–पश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। पुलको अवस्था मूल्यांकन गरी सुरक्षित ठहरिएपछि मात्रै नियमित आवागमन खुलाइने बताइएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्