काठमाडौं । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोगबाट ठूलो जनधनको क्षति हुनसक्ने चेतावनी दिएका छन्।
एनबीसी न्युजको ‘मिट द प्रेस’ अन्तर्वार्तामा गेट्सले एआई यति शक्तिशाली भइसकेको बताएका छन् कि यसको दुरुपयोगबाट हुने घटनाले एक अर्ब मानिसको ज्यान जाने अवस्था सिर्जना गर्न सक्ने बताएका हुन्। उनको अन्तर्वार्ताका केही अंश एनबीसी न्युजले सेप्टेम्बर २५ मा सार्वजनिक गरेको थियो।
गेट्सका अनुसार खराब नियत भएका व्यक्तिको हातमा अत्याधुनिक एआई उपकरण पुगेमा त्यसको प्रभाव अत्यन्त ठूलो हुन सक्छ। उनले गलत नियत भएका मानिस र पछिल्लो पुस्ताका एआई उपकरणको संयोजनभन्दा शक्तिशाली हतियार यसअघि कहिल्यै नभएको बताएका छन्।
उनले एआईको जोखिमलाई भविष्यको सम्भावित समस्या मात्र ठान्न नहुने बताएका छन्। एआईको प्रयोग गरेर खराब नियत भएका व्यक्तिले अहिले नै ठूलो स्तरमा क्षति पुर्याउने गतिविधि गर्न सक्ने उनको चेतावनी छ।
गेट्सले एआई कम्पनीहरूले आफैंले मात्र नियम बनाएर प्रविधिलाई नियमन गर्ने व्यवस्था पर्याप्त नभएको बताएका छन्। एआईको सुरक्षित विकास र प्रयोगका लागि सरकार, कानुन कार्यान्वयन गर्ने निकाय तथा राजनीतिक नेतृत्व पनि छलफलमा सहभागी हुनुपर्ने उनको भनाइ छ।
अन्तर्वार्ताका क्रममा अमेरिकी सरकारमार्फत एआई नियमनसम्बन्धी कानुन आवश्यक छ कि छैन भन्ने प्रश्नमा गेट्सले स्पष्ट रूपमा आवश्यक रहेको बताएका थिए। उनका अनुसार एआई उद्योगमा सुरक्षा मापदण्ड र निगरानी अनिवार्य हुनुपर्छ।
गेट्सको भनाइ एआईको दुरुपयोगबाट साइबर हमला, खतरनाक जैविक अनुसन्धान तथा अन्य गम्भीर गतिविधि सहज हुनसक्ने विषयमा बहस भइरहेका बेला आएको हो। एनबीसी न्युजले यसअघि सार्वजनिक गरेको अर्को रिपोर्टमा एआईको दुरुपयोगबाट जैविक हतियारसँग सम्बन्धित अनुसन्धानमा सहयोग लिन खोजिएका घटनासमेत सार्वजनिक भएका थिए।
गेट्सले एआई विकासलाई पूर्ण रूपमा रोक्नुपर्ने धारणा राखेका छैनन्। बरु यसको विकाससँगै आवश्यक सुरक्षा व्यवस्था, सरकारी निगरानी र कानुनी मापदण्ड पनि अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
एनबीसी न्युजका अनुसार गेट्सले एआई कम्पनीहरूको स्वनियमन मात्र पर्याप्त नहुने बताएका छन्। उनका अनुसार एआईबाट उत्पन्न हुनसक्ने जोखिम नियन्त्रण गर्न सरकारको औपचारिक भूमिका आवश्यक छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्