सेतीमा बढ्दो बहावले रामघाटमा जम्यो पानी, नदी किनारका बस्तीमा निगरानी

insight dainik

कास्कीको पोखरामा सेती नदीको बहाव बढेसँगै रामघाट क्षेत्रमा पानी जमेर ताल बनेपछि नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाइएको छ।

अविरल वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि पोखरा–९ र पोखरा–११ का नदी किनारमा रहेका सुकुमवासी बस्ती जोखिममा परेका छन्। रामघाट, शान्तिघाट तथा बौद्ध गुम्बाका शवदाह गृहसमेत पानीको सतह बढेसँगै प्रभावित हुने अवस्थामा पुगेका छन्।

पानीको बहाव बढेर रामघाटमा ताल बनेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालन गरिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रहरीले उक्त क्षेत्रको अवस्था निरन्तर निगरानी गरिरहेको छ।

प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीले रामघाट आसपासको स्थलगत निरीक्षणसमेत गरेका छन्। निरीक्षणपछि तत्कालै आत्तिनुपर्ने अवस्था नरहेको जनाउँदै सम्भावित जोखिमका लागि पूर्वतयारी भइरहेको प्रशासनले जनाएको छ।

सहायक प्रजिअ बरालका अनुसार नदीको पानीको सतह थप बढेर खतरा उत्पन्न भए नदीको दुवै किनारमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनेछ। स्थानीयलाई आतङ्कित नभई सतर्क र सचेत रहन आग्रह गरिएको छ।

यसैबीच, लगातारको वर्षाका कारण कास्कीका ग्रामीण सडकसमेत प्रभावित भएका छन्। अन्नपूर्ण गाउँपालिका–८ स्थित स्याउली बजारमा मोदी खोलाले सडक कटान गरेपछि नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अवरुद्ध भएको छ।

गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार शुक्रबार साँझ मोदी खोलाले स्याउली बजार क्षेत्रमा करिब १० मिटर सडक कटान गरेको हो। सडक अवरुद्ध भएपछि पर्यटकीय क्षेत्र घान्द्रुकको पोखरासँगको सडक सम्पर्क प्रभावित भएको छ।

प्रशासनले नदी तथा खोला आसपासका बस्ती र यात्रुहरूलाई पानीको सतह तथा बहावमा हुने परिवर्तनप्रति सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्