कनेक्ट आईपीएसको नाममा नक्कली वेबसाइट, ओटीपी चोरीको जोखिम

insight dainik

काठमाडौं । कनेक्ट आईपीएसको नाम दुरुपयोग गर्दै प्रयोगकर्ताको युजरनेम, पासवर्ड र ओटीपी चोरी गर्ने उद्देश्यले नक्कली वेबसाइट सञ्चालन भइरहेको पाइएको छ। मोबाइलमा एसएमएस पठाएर खाता प्रमाणीकरण गर्न भन्दै शंकास्पद लिङ्क खोल्न लगाउने र त्यसबाट संवेदनशील विवरण संकलन गर्ने प्रयास भइरहेको हो।

हालै ९७४०३३८२५६ लगायतका मोबाइल नम्बरबाट प्रयोगकर्तालाई यस्तो एसएमएस पठाइएको पाइएको छ। एसएमएसमा कनेक्ट आईपीएस खाता सुरक्षित गर्न प्रमाणीकरण आवश्यक रहेको भन्दै एउटा लिङ्कमा जान भनिएको छ।

यस क्रममा प्रयोग भइरहेको verifyconnectips.com कनेक्ट आईपीएसको आधिकारिक वेबसाइट नभई नक्कली वेबसाइट रहेको पाइएको छ। प्रयोगकर्तालाई झुक्याउन उक्त साइटको स्वरूप कनेक्ट आईपीएसको वास्तविक वेबसाइटजस्तै बनाइएको छ।

उक्त वेबसाइट कम्प्युटरबाट खोल्दा मोबाइलबाट मात्र सेवा प्रयोग गर्नुपर्ने र नेपालबाट मात्र पहुँच गर्न सकिने जस्ता सन्देश देखाउने गरेको पाइएको छ। साइबर सुरक्षाको भाषामा यस्तो प्रविधिलाई ‘क्लोकिङ’ भनिन्छ। यसले सुरक्षा अनुसन्धानकर्ता वा स्वचालित सुरक्षा प्रणालीलाई वेबसाइटको वास्तविक स्वरूप पहिचान गर्न कठिन बनाउन सक्छ।

मोबाइलमा खोल्दा भने नक्कली साइटले कनेक्ट आईपीएसकै जस्तो देखिने लगइन पेज देखाउँछ। त्यहाँ युजरनेम र पासवर्ड राख्ने विकल्प हुन्छ। तर ‘फर्गेट युजरनेम’ र ‘फर्गेट पासवर्ड’ जस्ता विकल्पले काम गर्दैनन्।

प्राविधिक विश्लेषणअनुसार प्रयोगकर्ताले नक्कली साइटमा राखेको युजरनेम र पासवर्ड आक्रमणकारीसम्म पुग्न सक्छ। त्यसपछि आक्रमणकारीले वास्तविक कनेक्ट आईपीएस प्रणालीमा ती विवरण प्रयोग गरेर लगइन प्रयास गर्न सक्छ। गलत विवरण राख्दा वास्तविक प्रणालीले अस्वीकार गरेपछि नक्कली साइटले पनि ‘गलत पासवर्ड’ देखाउने भएकाले प्रयोगकर्तालाई वेबसाइट सक्कली भएको भ्रम पर्न सक्छ।

सही युजरनेम र पासवर्ड राख्दा वास्तविक कनेक्ट आईपीएसबाट प्रयोगकर्ताको मोबाइलमा ओटीपी आउन सक्छ। त्यसपछि नक्कली वेबसाइटले ओटीपी माग्न सक्छ। प्रयोगकर्ताले उक्त ओटीपी राखेमा आक्रमणकारीले वास्तविक प्रणालीमा प्रयोग गरी खातामा अनधिकृत पहुँच बनाउने जोखिम हुन्छ।

नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसका आधिकारिक वेब ठेगाना connectips.com र login.connectips.com मात्र रहेको जनाएको छ। संस्थाका अनुसार एसएमएसमार्फत लिङ्क पठाएर पासवर्ड वा ओटीपी मागिँदैन।

त्यसैले अपरिचित नम्बरबाट आएको एसएमएसमा रहेको लिङ्क नखोल्न, verifyconnectips.com जस्ता नक्कली वेबसाइटमा आफ्नो विवरण नराख्न तथा पासवर्ड र ओटीपी कसैलाई पनि नदिन सावधानी अपनाउन आवश्यक छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्