चोलेन्द्र जबरासम्बन्धी समाचारमा खण्डन र प्रतिक्रिया प्रकाशित

दीपक भट्टले जबरालाई फोन गरी प्रभाव पार्न खोजेको भन्ने विवरणमा उजुरीकर्ताको आपत्ति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग जोडिएको सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी समाचारमा सम्बन्धित पक्षको खण्डन तथा प्रतिक्रिया प्राप्त भएपछि त्यसलाई समेटिएको छ।

इन्साइट दैनिकमा २०८३ असोज २० गते प्रकाशित ‘चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा, दीपक भट्टदेखि सशस्त्रका एआईजीसम्म कसरी जोडियो कनेक्सन?’ शीर्षकको समाचारबारे चतुर्भुज भट्टले प्रेस काउन्सिल नेपालमा उजुरी दिएका थिए।

उजुरीमा दीपक भट्टले पुर्पक्षका लागि थुनामा रहेका बेला पूर्वप्रधानन्यायाधीश जबरालाई फोन सम्पर्क गरी प्रभाव पार्ने प्रयास गरेको भन्ने आशयको विवरणप्रति आपत्ति जनाइएको छ। उजुरीकर्ताले दीपक भट्टले अदालतबाट न्याय प्राप्त गरिसकेको तथा अनुसन्धान अधिकारी र अदालतसमक्ष बयान दिएको उल्लेख गर्दै समाचारमा प्रस्तुत विवरणको खण्डन गरेका छन्।

उजुरीमा भट्टले जबरालाई फोन गरेर मुद्दामा प्रभाव पार्ने प्रयास नगरेको दाबी गरिएको छ। साथै, समाचारमा उल्लेखित विवरणलाई तथ्यगत रूपमा स्पष्ट पार्नुपर्ने माग गरिएको छ।

यस विषयमा प्रेस काउन्सिल नेपालले २०८३ असोज २८ गते इन्साइट दैनिकलाई पत्र पठाउँदै सम्बन्धित पक्षको खण्डन तथा प्रतिक्रिया प्राप्त भएको भए उचित स्थान दिई यथाशीघ्र प्रकाशन गर्न निर्देशन दिएको थियो।

सम्बन्धित पक्षबाट प्राप्त खण्डन तथा प्रतिक्रियालाई सम्मान गर्दै प्रेस काउन्सिल नेपालको निर्देशनअनुसार उक्त धारणा समेटेर यो समाचार प्रकाशित गरिएको छ। निष्पक्ष, सन्तुलित र जिम्मेवार पत्रकारिताको मर्मअनुरूप सम्बन्धित पक्षको भनाइलाई उचित स्थान दिँदै पाठकसमक्ष प्रस्तुत गरिएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्