काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकटस्थ र आफन्तको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेपछि पछिल्लो समय चर्चामा रहेको जबरा–दीपक भट्ट–इनम सापकोटा कनेक्सन थप पेचिलो बनेको छ।
बुधबार विभागले जबरा, नवराज थपलिया, दीपक तिमल्सिना, नारायण दाहाललगायतसँग सम्बन्धित स्थानमा छापा मारेको हो। जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत टोली पुगेको र केही महत्वपूर्ण कागजात बरामद भएको स्रोतको दाबी छ।
यसअघि प्रहरीले जबरालाई उनको निवासबाट मध्यराति नियन्त्रणमा लिएर करिब १२ घण्टापछि छाडेको थियो। त्यस क्रममा उनको मोबाइल जाँच गरिएपछि झापाका इनम सापकोटासँगको सम्पर्कबारे अनुसन्धान अघि बढेको प्रहरी स्रोतको दाबी छ।
अनुसन्धानको केन्द्रमा रहेका व्यवसायी दीपक भट्ट अहिले सम्पत्ति शुद्धीकरणलगायत मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भट्ट र अर्का व्यवसायी सुलभ अग्रवालसँग सापकोटामार्फत जबराको सम्पर्क हुने गरेको देखिएको छ। भट्टलाई यसै कारण नख्खुबाट सिन्धुपाल्चोक कारागारसमेत सारिएको बताइएको छ।
यही कनेक्सनमा सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल पनि जोडिएका छन्। अनुसन्धानका क्रममा दाहाल र सापकोटाबीच सम्पर्क देखिएको तथा सापकोटामार्फत जबरासँग संवेदनशील सूचना आदानप्रदान भएको आशंका भएपछि दाहाललाई गृह मन्त्रालयले निलम्बन गरी छानबिन अघि बढाएको छ।
जबरालाई हिरासतमा राखिएको समयमा दाहाल अनुमति नलिई टेकुस्थित कार्यालय पुगेको र जबरालाई भेटेको विषयमा समेत विवाद भएको थियो। यसलाई संगठनको ‘चेन अफ कमान्ड’ उल्लंघनसँग जोडेर स्पष्टीकरण तथा कारबाही प्रक्रिया अघि बढाइएको थियो।
अहिले अनुसन्धानको मुख्य प्रश्न भनेको सापकोटामार्फत जबरा, भट्ट र दाहालबीच भएको सम्पर्कको वास्तविक उद्देश्य के थियो भन्ने हो। प्रहरीले यसलाई मुद्दामा प्रभाव पार्ने प्रयास तथा संवेदनशील सूचना चुहावटसँग जोडेर अनुसन्धान गरिरहेको छ। दाहालमाथिको छानबिनका लागि अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ।
तर यी सबै विषयमा अनुसन्धान जारी रहेकाले आरोप प्रमाणित भइसकेको अवस्था भने छैन। सम्पत्ति शुद्धीकरण विभागको पछिल्लो छापा र प्रहरी अनुसन्धानले यो प्रकरणमा थप कस्तो तथ्य बाहिर ल्याउँछ भन्ने अहिले चासोको विषय बनेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्