बंगलादेशको पहिलो आणविक विद्युत् गृह सञ्चालनको तयारी, बिजुली संकट टार्ने आशा तर सुरक्षाको चिन्ता

insight dainik

ढाकाको लामो समयदेखिको विद्युत् संकट समाधान गर्ने आशासहित बंगलादेशले आफ्नो पहिलो आणविक विद्युत् गृह सञ्चालनमा ल्याउने तयारी गरेको छ। रुसको सहयोगमा निर्माण भइरहेको २.४ गिगावाट क्षमताको रूपपुर आणविक विद्युत् गृहको पहिलो रिएक्टर सन् २०२६ को अन्त्यसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

पाब्नास्थित यो परियोजना करिब १३ अर्ब अमेरिकी डलर लागतमा निर्माण भइरहेको हो। पूर्ण रूपमा सञ्चालनमा आएपछि यसका दुईवटा रिएक्टरले बंगलादेशको कुल विद्युत् मागको १० प्रतिशतभन्दा बढी आपूर्ति गर्ने अपेक्षा गरिएको छ। करिब १७ करोड जनसंख्या रहेको बंगलादेश अहिले मुख्यतः प्राकृतिक ग्यासलगायत जीवाश्म इन्धनमा निर्भर छ।

राज्य स्वामित्वको न्यूक्लियर पावर प्लान्ट कम्पनी बंगलादेशका प्रबन्ध निर्देशक मोहम्मद जाहेदुल हसनका अनुसार पहिलो रिएक्टर यसै वर्ष सञ्चालनमा आउनेछ भने दोस्रो रिएक्टर त्यसको करिब एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ।

रुसको सरकारी आणविक कम्पनी रोजाटोमको सहकार्यमा निर्माण भइरहेको परियोजनाले रूपपुर आसपासको ग्रामीण अर्थतन्त्रमा समेत ठूलो परिवर्तन ल्याएको छ। हजारौँ रुसी प्राविधिक तथा कामदार त्यहाँ बसेर काम गरिरहेका छन्। उनीहरूका कारण स्थानीय क्षेत्रमा नयाँ पसल, रेस्टुरेन्ट, रोजगारी तथा अन्य व्यवसाय बढेका छन्।

तर आणविक विद्युत् गृह सञ्चालनसँगै स्थानीय बासिन्दामा सुरक्षाको चिन्ता पनि देखिएको छ। परियोजना अधिकारीहरूले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड र विगतका आणविक दुर्घटनाबाट सिकिएका पाठलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था गरिएको बताएका छन्। यद्यपि विद्युत् गृह नजिकै बस्ने केही स्थानीयले परीक्षणका क्रममा आएको ठूलो आवाजदेखि समेत डर लागेको बताएका छन्।

रूपपुर आणविक विद्युत् गृहको योजना सन् १९६० को दशकदेखि नै बंगलादेशको चर्चामा थियो। सन् २०१५ मा बंगलादेश र रुसबीच सम्झौता भएपछि परियोजनाले गति लिएको थियो र सन् २०१७ मा निर्माण सुरु भएको थियो। कोरोना महामारी तथा रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उपकरण आपूर्ति र भुक्तानी प्रक्रियामा ढिलाइ भएको थियो।

बंगलादेशका लागि अहिले मुख्य प्रश्न भनेको आणविक विद्युत् गृह कहिले पूर्ण क्षमतामा सञ्चालन हुन्छ र त्यसले सर्वसाधारणले भोग्दै आएको विद्युत् कटौती कति घटाउँछ भन्ने हो। स्थानीय किसानदेखि उद्योग व्यवसायसम्मले नियमित र भरपर्दो विद्युत् आपूर्तिको अपेक्षा गरेका छन्।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्