फिनल्यान्डका अधिकारीहरूले वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी प्रक्रिया पूरा नगरी वन क्षेत्र फँडानी तथा अन्य पूर्वाधार निर्माण गरिएको भन्दै गुगलका दुई प्रस्तावित डाटा सेन्टरमा भइरहेको काम रोक्न आदेश दिएका छन्।
फिनल्यान्डको सुपरभाइजरी एजेन्सी (एलभीभी) का अनुसार मुहोस र काजानीमा निर्माण हुन लागेका डाटा सेन्टरका लागि ३०० हेक्टरभन्दा बढी वन क्षेत्र प्रभावित हुने गरी काम अघि बढाइएको थियो। मुहोसमा अनिवार्य वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अघि बढाइएको पाइएको भन्दै एजेन्सीले वातावरणमा ठूलो परिवर्तन ल्याउने गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।
त्यहाँ रुख काट्ने, माथिल्लो माटो हटाउने, निर्माणस्थलसम्म पुग्ने सडक तथा भण्डारण क्षेत्र बनाउने र पानी निकासका नालामा परिवर्तन गर्ने काम भएको एजेन्सीले जनाएको छ। परियोजना सञ्चालन गर्ने कम्पनी टुइके फिनल्यान्डलाई आगामी १४ अक्टोबरसम्म कामबारे स्पष्टीकरण दिन र अब कसरी अघि बढ्ने भन्ने योजना पेस गर्न भनिएको छ। निर्देशन पालना नगरे कारबाही प्रक्रिया अघि बढाउन सकिने चेतावनी पनि दिइएको छ।
यसअघि फिनल्यान्डको प्रकृति संरक्षणसम्बन्धी संस्थाले संरक्षण गर्नुपर्ने प्राकृतिक क्षेत्रसमेत फँडानी भएको भन्दै निर्माण रोक्न माग गरेको थियो।
गुगलले घटनाप्रति चासो व्यक्त गर्दै आफूले आफ्नै उच्च वातावरणीय मापदण्ड पूरा गर्न नसकेको स्वीकार गरेको छ। कम्पनीले आफूले वनसम्बन्धी कानुनअनुसार सद्भावपूर्वक काम गरेको, प्राकृतिक क्षेत्रको अध्ययन गरेको र उच्च वातावरणीय महत्त्व भएका क्षेत्र संरक्षणका उपाय अपनाएको दाबी गरेको छ। मुहोसमा १३० हेक्टर क्षेत्रमा पुनः वृक्षरोपण गर्ने योजना पनि गुगलले जनाएको छ।
गुगलले गत महिना फिनल्यान्डमा सन् २०२७ र २०२८ का लागि कम्तीमा १३ अर्ब युरो लगानी गर्ने घोषणा गरेको थियो। मुहोस, काजानी र वाला क्षेत्रमा नयाँ डाटा सेन्टर निर्माण तथा हमिनास्थित पुरानो केन्द्रमा लगानी विस्तार गर्ने योजना छ।
गुगलका अनुसार यस विस्तारले निर्माण अवधिमा ३७ हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने र फिनल्यान्डको अर्थतन्त्रमा वार्षिक औसत ३.६ अर्ब युरो योगदान पुर्याउने अपेक्षा गरिएको छ। चिसो मौसम र न्यून कार्बनयुक्त विद्युत् उपलब्धताका कारण फिनल्यान्ड डाटा सेन्टरका लागि आकर्षक गन्तव्य बन्दै गएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्