साउदी अरबमा फेसबुकमा इस्लाम र पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरेको आरोपमा श्रीलंकाली नागरिक २४ वर्षीय अनोजन सिवारासालाई मृत्युदण्ड सुनाइएको छ। उनको जीवनरक्षाका लागि परिवार, धार्मिक नेता, मानव अधिकारकर्मी तथा श्रीलंकाली सरकारबाट साउदी अधिकारीसमक्ष क्षमादानको आग्रह भइरहेको छ।
अनोजन रोजगारीका लागि साउदी अरब पुगेका थिए। श्रीलंकामा हिन्दू तीर्थयात्रीसँग सम्बन्धित एउटा घटनाको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि त्यस विषयमा धार्मिक बहस सुरु भएको थियो। बहसका क्रममा एक प्रयोगकर्ताले हिन्दू देवताबारे अपमानजनक टिप्पणी गरेपछि अनोजनले तमिल भाषामा पैगम्बर मोहम्मदप्रति अपमानजनक प्रतिक्रिया दिएको बताइएको छ। उनले उक्त टिप्पणी तत्काल हटाएर पछि माफीसमेत मागेका थिए।
तर टिप्पणीको स्क्रिनसट उनका रोजगारदाता र साउदी अधिकारीसम्म पुगेपछि उनलाई जुलाईमा पक्राउ गरिएको थियो। उनका व्यक्तिगत उपकरणसमेत नियन्त्रणमा लिइएको र सामाजिक सञ्जालका खाताहरू हटाइएको परिवारको भनाइ छ।
साउदीको अल–अहसा फौजदारी अदालतले सुरुमा उनलाई पाँच वर्षको जेल सजायसँगै ३० लाख साउदी रियाल जरिवाना तोकेको थियो। तर पुनरावेदनपछि सेप्टेम्बर १७ मा अभियोजन पक्षले साइबर अपराधसम्बन्धी कानुनको सट्टा शरिया कानुनअन्तर्गत मुद्दा चलाउन माग गरेको थियो। पुनरावेदन अदालतले उक्त माग स्वीकार गरेपछि उनको सजाय मृत्युदण्डमा परिणत भएको हो।
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सेप्टेम्बर २१ मा अनोजनको परिवारसँग भेट गरी उनलाई आममाफी दिलाउन सरकारले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन्। श्रीलंकाली विदेश मन्त्रालयले पनि कूटनीतिक माध्यमबाट साउदी पक्षसँग पहल भइरहेको जनाएको छ।
बौद्ध तथा हिन्दू धार्मिक नेताहरूले समेत राष्ट्रपतिको कार्यालयमा ज्ञापनपत्र बुझाउँदै तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्। अनोजनको मुद्दाबारे छलफल गर्न श्रीलंकाबाट चार सदस्यीय कानुनी टोली साउदी अरब जाने तयारीमा छ।
यसैबीच, अनोजनको परिवारले एक साताभन्दा बढी समयदेखि उनीसँग सम्पर्क हुन नसकेको जनाएको छ। साउदी अधिकारीहरूले उनको मृत्युदण्ड कहिले कार्यान्वयन गर्ने भन्नेबारे कुनै आधिकारिक मिति सार्वजनिक गरेका छैनन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्