पशुपतिनाथमा प्रवेशको घटना : धार्मिक सहिष्णुतासँगै परम्पराको सम्मान आवश्यक

insight dainik

काठमाडौं । नेपाल विभिन्न धर्म, संस्कृति र परम्परा मान्ने समुदायको साझा देश हो। हिन्दु, बौद्ध, मुस्लिम, किराँत, इसाईलगायत विभिन्न धर्मावलम्बीबीचको सहअस्तित्व र धार्मिक सहिष्णुता नेपाली समाजको महत्वपूर्ण विशेषता मानिन्छ। यही सहिष्णुताको वातावरणमा पशुपतिनाथ मन्दिरमा गैरहिन्दुको प्रवेशसम्बन्धी पछिल्लो घटनाले धार्मिक स्थलका आफ्नै परम्परा र नियमको सम्मानको विषयलाई फेरि चर्चामा ल्याएको छ।

पशुपतिनाथ हिन्दु धर्मावलम्बीको प्रमुख आस्थाको केन्द्र हो। मन्दिरको मूल भागमा हिन्दु धर्मावलम्बीलाई मात्र प्रवेश दिने परम्परा लामो समयदेखि कायम छ। यस्तो व्यवस्था पशुपतिनाथको धार्मिक परम्परा, पूजा पद्धति र सांस्कृतिक मान्यतासँग जोडिएको विषय हो।

पछिल्लो घटनामा इटहरीकी प्रियङ्का परियार र ओसीम अन्सारी पशुपतिनाथको मुख्य मन्दिरमा प्रवेश गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना चर्चामा आएको हो। पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले दुवैलाई इटहरीबाट पक्राउ गरी थप अनुसन्धानका लागि गौशाला प्रहरी वृत्त पठाएको जनाएको छ।

परियार र अन्सारी प्रेम विवाह गरेका दम्पती भएको र परियारले आफ्नो श्रीमानसाथ पशुपतिनाथ दर्शन गराउन आफू मन्दिर पुगेको बताएकी छन्। उनले यसलाई अन्य उद्देश्यबाट नबुझ्न आग्रह गरेकी छन्।

घटनापछि पशुपति क्षेत्र विकास कोषले मन्दिरको सुरक्षा व्यवस्थाबारे छानबिन गर्न रामशोभित नायकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ। कोषले सुरक्षा व्यवस्थामा कमजोरी भएको भन्दै क्षमायाचनासमेत गर्ने निर्णय गरेको जनाएको छ।

साथै घटनामा संलग्न व्यक्ति तथा भिडियो सार्वजनिक गर्ने व्यक्तिमाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गर्ने निर्णय भएको कोषले जनाएको छ।

नेपालको धार्मिक सहिष्णुताको अर्थ कुनै धर्म वा समुदायप्रति विभेद गर्नु होइन, बरु प्रत्येक धर्मको आस्था, परम्परा र धार्मिक स्थलका स्थापित नियमको सम्मान गर्दै सहअस्तित्व कायम गर्नु हो। जसरी अन्य धर्मका पवित्र स्थलमा आफ्नै धार्मिक मर्यादा र आचारसंहिता हुन्छन्, त्यसरी नै पशुपतिनाथको पनि आफ्नै प्रवेश परम्परा रहेको छ।

त्यसैले पछिल्लो घटनालाई धार्मिक समुदायबीच दूरी बढाउने विषयका रूपमा नभई आफ्नो आस्थाको सम्मान गर्दै अरूको धार्मिक परम्परा र नियमलाई पनि सम्मान गर्ने संस्कारलाई बलियो बनाउने अवसरका रूपमा लिनुपर्ने देखिन्छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्दै पशुपतिनाथको धार्मिक तथा सांस्कृतिक गरिमा संरक्षण गर्नु सबैको साझा जिम्मेवारी हो।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्