काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। पहिरो खस्ने र सडक डुबानमा पर्ने क्रम बढेपछि केही स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने कतिपय मार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
शुक्रबार दिउँसोसम्मको विवरणअनुसार बागमती प्रदेशका धेरै सडकमा वर्षाको प्रभाव देखिएको छ। ललितपुरको भटेडाँडा र गोदावरीको बर्खेधारा क्षेत्रमा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ। काभ्रे र सिन्धुली खण्डमा पर्ने बीपी राजमार्गको किम्तिबेँसी क्षेत्रमा पहिरो गएपछि सडक बन्द छ। उक्त राजमार्गमा असोज ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
चितवनतर्फको नारायणगढ–मुग्लिन सडकमा पनि अर्को सूचना जारी नभएसम्म रातको समयमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट र कृष्णभीर क्षेत्रमा पहिरोका कारण आवागमन प्रभावित भएको छ। इच्छाकामना क्षेत्रमा भने साना सवारीसाधनलाई मात्र आवागमनको अवस्था रहेको जनाइएको छ।
रसुवाका मुख्य सडकहरू पनि बन्द छन्। मकवानपुरको कान्ति राजमार्ग र त्रिभुवन राजपथ पहिरोका कारण प्रभावित भएका छन्। दोलखा र सिन्धुपाल्चोकमा समेत रातको समयमा सडक यात्रामा रोक लगाइएको छ।
कोशी प्रदेशमा पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीले तमोर करिडोर अवरुद्ध भएको छ। ओखलढुङ्गाको भँडारे खोलामा बाढी आएपछि सिद्धिचरण लोकमार्गमा यातायात सञ्चालन हुन सकेको छैन। भोजपुरको मध्यपहाडी लोकमार्ग र इलामको मेची राजमार्गमा पनि रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
गण्डकी प्रदेशमा मनाङको खोत्रोमा पहिरो गएपछि चामे–बेँसीसहर सडक बन्द भएको छ। कास्कीका ग्रामीण सडकमा पनि रातको समयमा यात्रा गर्न रोक लगाइएको छ।
सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा अत्यावश्यक कामबाहेक रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्