काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रविधिमैत्री शासनलाई सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्।
शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरा गहिरो भए पनि त्यसविरुद्ध अघि बढ्ने शक्ति अहिले बलियो र धेरै रहेको बताए। विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै उनले सरकारले प्रशासनिक संरचनालाई उपयुक्त आकार दिने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा प्रशासनमा राजनीतिक तटस्थता कायम गर्ने नीति लिएको बताए।
सरकारी तथा सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो। उनले सुशासन भाषण वा नारामा सीमित नभई व्यवहारमा देखिनुपर्ने भन्दै सरकारले त्यसैअनुसार काम गरिरहेको दाबी गरे।
प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयमार्फत विकासको साझा लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। ‘हामी पुरानै बाटो मात्र हिँड्ने छैनौँ’ भन्दै उनले कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताए।
नवप्रवर्तन र नयाँ व्यवसायलाई प्रोत्साहन गर्दै राष्ट्रिय डिजिटल पूर्वाधार विकासमा जोड दिइने उनले उल्लेख गरे। युवाले सडकमा उठाएका सुशासनका मागलाई प्रविधिको प्रयोगबाट समेत सम्बोधन गर्ने उनको भनाइ थियो।
सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरे। विपद् उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, कर्मचारी र नागरिकलाई उनले धन्यवाद दिए।
नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै उनले विपद् आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा जोखिम न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई प्राथमिकता दिने सरकारको नीति रहेको बताए।
प्रधानमन्त्री शाहले संविधानको मर्मअनुसार सुशासन, पारदर्शिता, विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउँदै संविधानलाई व्यवहारमै कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको रहेको बताए।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्