बेत्रावतीको छतमा २४ शवको तितो कथा : बाढीबाट जोगिन २३ यात्रुले आश्रय लिएका थिए

insight dainik

नुवाकोट । भोटेकोसीमा आएको भीषण बाढीले बेत्रावती बजारमा पुर्‍याएको क्षतिको एउटा हृदयविदारक दृश्य केही दिनपछि मात्रै बाहिर आएको छ। बाढीबाट जोगिन एउटै भवनको छतमा आश्रय लिएका २४ जनाको शव फेला परेको छ। तीमध्ये २३ जना बाहिरबाट आएका यात्रु तथा ग्राहक थिए भने एक जना घरधनी सावित्री रहेको स्थानीयले बताएका छन्।

भदौ १० गते बिहान बाढीको चेतावनी फैलिएपछि गोसाइँकुण्डतर्फ जाँदै गरेका यात्रुसहित स्थानीयहरू बेत्रावतीस्थित उत्तरगया मिनीमार्टको बलियो भवनमा ओत लागेका थिए। बाढीको पानी तीव्र गतिमा बढेपछि उनीहरू माथिल्लो तलासम्म पुगेका थिए। तर बाढीले भवनलाई करिब सय मिटर बगाएर नदीको बीचतिर पुर्‍यायो।

घटनाको केही दिनपछि बेपत्ता व्यक्तिको खोजी गर्ने क्रममा भवनमा शव रहेको पत्ता लागेको हो। नेपाली सेना र प्रहरीले ड्रोनबाट निरीक्षण गर्दा माथिल्लो तलामा शव देखेपछि स्थानीयको सहयोगमा उद्धार प्रक्रिया अघि बढाइएको थियो। साँघुरो र जोखिमपूर्ण बाटोका कारण जस्तापाता र काठ बिछ्याएर सुरक्षाकर्मी तथा स्थानीय भवनसम्म पुगेका थिए।

स्थानीय पूर्वशिक्षक अष्टमान डंगोलका अनुसार भवनबाट पहिलो चरणमा नौ वटा शव निकालेर हेलिकप्टरमार्फत त्रिशूली लगिएको थियो। बाँकी शव अर्को दिन उद्धार गरिएको थियो। जुत्ता–चप्पल लगाएका, झोला बोकेका र एक महिलाले बच्चा च्यापेको अवस्थामा समेत शव भेटिएको स्थानीयले बताएका छन्।

मिनीमार्ट सञ्चालक अर्जुन वस्ती भने बाढी आउँदा छोराछोरीसहित त्रिभुवन माध्यमिक विद्यालय पुगेकाले जोगिएका थिए। तर उनकी पत्नी सावित्रीको शव आफ्नै बगेको भवनमा चार दिनपछि भेटियो।

बेत्रावतीमा मात्रै स्थानीय १४८ जना बाढीमा परेको बताइएको छ। त्यसमध्ये नेवार समुदायका ५३ जना रहेको स्थानीयको भनाइ छ। धेरै परिवारले अझै आफन्तको शव फेला पार्न सकेका छैनन्।

स्थानीयका अनुसार बाढी आउँदैछ भन्ने चेतावनी आए पनि विगतका अनुभवका कारण बाढी यति ठूलो हुने अनुमान गरिएको थिएन। नयाँ र पुरानो दुवै पुलसमेत बगाएपछि भाग्ने मौका नपाएका धेरै मानिस विपत्तिमा परेका थिए।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्