जापानको सहयोगमा बिपी राजमार्ग पुनर्निर्माण शुरु, पिप्ले–बर्खेखोला खण्डमा शुरु गरिने

nepal news portal

काभ्रेपलाञ्चोकस्थित बिपी राजमार्गको पिप्ले–बर्खेखोला सडकखण्डमा जापान सरकारको सहयोगमा स्थायी पुनर्निर्माण कार्य सुरु गरिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन्।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा करिब ३ दशमलव २ किलोमिटर सडकखण्ड पुनर्निर्माण हुन लागेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। २०८१ सालको असोज महिनामा आएको बाढी र पहिरोले बिपी राजमार्गका विभिन्न भागमा ठूलो क्षति पुर्‍याएपछि स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।

सडक डिभिजन कार्यालयका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुलीतर्फ गरी करिब ३० किलोमिटर सडकखण्डमा मर्मत तथा पुनर्निर्माण आवश्यक देखिएको छ। पिप्ले–बर्खेखोला खण्ड निर्माणको जिम्मा जापानको सिमिजु कर्पोरेसनले पाएको छ। जापान सरकारले यस परियोजनाका लागि दुई अर्ब ८० करोड येन बराबरको अनुदान सहयोग उपलब्ध गराउने गरी गत वर्ष द्विपक्षीय सम्झौता गरेको थियो।

हाल बिपी राजमार्गका क्षतिग्रस्त चार खण्डमा पुनर्निर्माणको काम भइरहेको छ। विभिन्न स्थानमा आरसिसी पर्खाल निर्माण, सडक चौडा गर्ने तथा बाढीबाट सुरक्षित संरचना बनाउने काम अघि बढाइएको छ। पुनर्निर्माणपछि सडकलाई दुई लेनमा स्तरोन्नति गरिने र पाँच वटा पुलसमेत दुई लेनमा विस्तार गरिने योजना रहेको छ।

सरकारले काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्ड र सिन्धुलीको एक खण्ड गरी पुनर्निर्माणका लागि आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरिसकेको जनाएको छ। जापान सरकारकै सहयोगमा निर्माण भएको १६० किलोमिटर लामो बिपी राजमार्ग २०७२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।