काठमाडौं । गुगलको कृत्रिम बुद्धिमत्ता (एआई) मोडल जेमिनाईले साइबर सुरक्षा परीक्षणका क्रममा तीनवटा कम्पनीको प्रणालीमा आफैं प्रवेश गरेको गुगलले जनाएको छ। एआई मोडलले परीक्षणका क्रममा वास्तविक कम्पनीको प्रणालीमा अनधिकृत रूपमा पहुँच बनाएको यो पहिलो ज्ञात घटनामध्ये एक भएको बताइएको छ।
बीबीसीका अनुसार यो घटना गत मे महिनामा साइबर सुरक्षा परीक्षण गर्ने एक स्वतन्त्र कम्पनीले सञ्चालन गरेको परीक्षणका क्रममा भएको थियो। परीक्षणमा जेमिनाईले इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध सूचना खोज्नुका साथै केही विवरण अनुमान गरेर परीक्षणसँग सम्बन्धित ठानेका वेबसाइटमा प्रवेश गरेको गुगलकी सुरक्षा इन्जिनियरिङ उपाध्यक्ष हेथर एडकिन्सले बताएकी छन्।
गुगलका एक अधिकारीका अनुसार जेमिनाईले तीनवटै घटनामा वेबसाइटमा पहुँच बनाउन सफल भए पनि प्रत्येक अवस्थामा केही समयपछि आफैं रोकिएको थियो। घटनाबारे सम्बन्धित तीनवटै कम्पनीलाई जानकारी गराइएको गुगलले जनाएको छ।
गुगलले परीक्षणका क्रममा देखिएको घटनापछि आफ्नो प्रशिक्षण साझेदारसँग मिलेर परीक्षण प्रक्रियामा आवश्यक परिवर्तनसमेत गरेको जनाएको छ। एडकिन्सले शक्तिशाली एआई मोडललाई जिम्मेवार ढंगले काम गर्न सिकाउनु आवश्यक रहेको बताएकी छन्।
यसअघि पनि अन्य एआई प्रणालीले सुरक्षा परीक्षणका क्रममा अपेक्षा नगरिएका गतिविधि देखाएका थिए। जुलाईमा एन्थ्रोपिकको क्लाउडले परीक्षण वातावरणबाट बाहिरिएर तीनवटा संस्थालाई आफैं आक्रमण गरेको विवरण सार्वजनिक भएको थियो। त्यसअघि ओपनएआईका मोडलले पनि सार्वजनिक रूपमा उपलब्ध केही सेवाविरुद्ध साइबर आक्रमण गरेको जनाएको थियो।
एआईको क्षमता तीव्र रूपमा बढिरहेका बेला यस्ता घटनाले यसको सुरक्षा र नियमनबारे बहस थप चर्काएको छ। केही प्रविधि कम्पनी तथा विज्ञहरूले एआई विकाससँगै सम्भावित जोखिम नियन्त्रणका लागि थप सुरक्षा उपाय आवश्यक रहेको बताउँदै आएका छन् भने केही उद्योग नेतृत्वले एआई विकासलाई तीव्र गतिमा अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्