लगातार वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत सडक प्रभावित, धारापानीमा सडक भासियो

insight dainik

चितवन । लगातार भइरहेको वर्षाका कारण चितवनका प्रमुख सडकखण्डहरू प्रभावित भएका छन्। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा शुक्रबार बिहान सडक भासिएपछि यातायात सञ्चालनमा समस्या भएको छ।

प्रहरीका अनुसार शुक्रबार बिहान करिब ६ः१५ बजे धारापानीस्थित पृथ्वी राजमार्गमा सडक भासिएको हो। सडक भासिए पनि साना सवारीसाधन तथा मोटरसाइकल सञ्चालन गर्न सक्ने अवस्था रहेको छ। तर ठूला सवारीसाधन भने उक्त स्थानबाट पास हुन नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

यसैबीच, लगातारको वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पनि ढुंगामाटो खसेको छ। सडकखण्डको तुईनखोला, नाम्से पुल, १५ किलो र १७ किलो क्षेत्रमा ढुंगामाटो खसेपछि यातायात प्रभावित भएको हो।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार पहिरो तथा ढुंगामाटो खसेका स्थानमा सडक खुलाउने काम भइरहेको छ। पहिरो खस्ने क्रम जारी रहेकाले अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रशासनले यात्रु तथा सवारी चालकलाई सडकको अवस्थालाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

यसअघि पनि वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिम बढेको भन्दै चितवनका विभिन्न सडकमा आवागमन व्यवस्थापन गरिएको थियो। पछिल्लो घटनाले पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाका कारण थप जोखिम बढेको देखिएको छ।

यात्राका क्रममा सडकको अवस्था बुझेर मात्रै अगाडि बढ्न तथा जोखिमयुक्त स्थानमा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्