५० वर्षपछि त्यही विद्यालयमा फर्किए U2, विद्यार्थीमाझ मनाए ब्यान्ड गठनको वार्षिकोत्सव

insight dainik

आयरल्यान्डको चर्चित रक ब्यान्ड U2 ले आफ्नो गठनको ५०औँ वार्षिकोत्सव आफूहरू पहिलोपटक भेला भएको डब्लिनस्थित माउन्ट टेम्पल कम्प्रिहेन्सिभ स्कुलमा विशेष प्रस्तुति दिँदै मनाएको छ।

ब्यान्डका सदस्य बोनो, द एज, एडम क्लेटन र ल्यारी मुलन जुनियरले विद्यालयको खेल मैदानमा विद्यार्थीहरूसामु प्रस्तुति दिएका हुन्। उनीहरूले ‘I Will Follow’, ‘Vertigo’, ‘Beautiful Day’, ‘Out of Control’, ‘Silencio’, ‘One’ र ‘With or Without You’ लगायत सात गीत प्रस्तुत गरे।

प्रस्तुतिका क्रममा विद्यालयका विद्यार्थीले U2 का पक्षमा विभिन्न सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। ब्यान्डका सदस्यहरूलाई स्वागत गर्न विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए।

U2 को यात्रा सन् १९७६ मा सुरु भएको थियो। त्यतिबेला १४ वर्षीय ल्यारी मुलन जुनियरले विद्यालयको सूचना पाटीमा संगीत समूह बनाउन चाहेको भन्दै हस्तलिखित सूचना टाँसेका थिए। त्यसको केही दिनपछि, २५ सेप्टेम्बर १९७६ मा उनका अभिभावकको भान्सामा संगीतकार छनोटका लागि पहिलो भेट भएको थियो।

त्यही भेटमा बोनो, द एज र एडम क्लेटन पनि सहभागी भएका थिए। सुरुवाती समयमा ब्यान्डको नाम ‘फिडब्याक’ र पछि ‘द हाइप’ राखिएको थियो। अन्ततः उनीहरू U2 नामबाट विश्वभर चर्चित बने।

बीबीसीसँग कुरा गर्दै ल्यारीले ब्यान्ड गठनको सुरुवातमा आफूले धेरै कुरा नजानेको बताएका छन्। सुरुवाती अभ्यासमा संगीतभन्दा कुराकानी बढी हुने गरेको र क्लेटनले त्यतिबेला बेस गिटार बजाउनसमेत नजान्ने बताएका छन्।

विद्यालयमा फर्किएर प्रस्तुति दिने क्रममा बोनो भावुकसमेत बने। उनले ब्यान्डलाई अघि बढ्न सहयोग गरेको विद्यालय र शिक्षकहरूप्रति आभार व्यक्त गरे।

U2 ले यसै अवसरमा आफ्नो १६औँ स्टुडियो एल्बम ‘Carnaval de Luz’ नोभेम्बरमा सार्वजनिक गर्ने घोषणा पनि गरेको छ। एल्बममा दिवंगत गायिका डली पार्टनसँग सहकार्य गरिएको ‘Torn’ गीतसमेत समावेश गरिएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्