हिम्लुङ हिमालमा हिमपहिरो, कम्तीमा १० जना सम्पर्कविहीन

insight dainik

मनाङको नारफु क्षेत्रमा रहेको हिम्लुङ हिमालमा हिमपहिरो जाँदा आरोहण टोलीका सहयोगीसहित कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

आइतबार बिहान हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा हिमपहिरो खसेको र त्यस क्रममा त्यहाँ रहेका टेन्ट तथा अन्य संरचना पुरिएको प्रारम्भिक जानकारी आएको छ। हिमपहिरोपछि आरोहण टोलीसँग सम्पर्क हुन नसकेको हो।

प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा हिमालयन होलिडेज नेपालसँग सम्बन्धित ८ जना तथा इम्याजिन नेपालसँग सम्बन्धित २ जना रहेका छन्। उनीहरू आरोहण टोलीका शेर्पा, सहयोगी तथा अन्य कर्मचारी रहेको बताइएको छ।

घटनापछि खोज तथा उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको भए पनि प्रतिकूल मौसमका कारण तत्काल घटनास्थल पुग्न समस्या भएको छ। हिमाली क्षेत्रमा मौसम खराब रहेकाले उद्धार तथा खोजी अभियान प्रभावित भएको जनाइएको छ।

यसैबीच, पछिल्लो विवरणमा सम्पर्कविहीन नेपालीको संख्या १४ जनासम्म हुन सक्ने जानकारीसमेत सार्वजनिक भएको छ। घटनास्थलमा उद्धार टोली पुगेर अवस्था यकिन गरेपछि मात्रै वास्तविक संख्या पुष्टि हुने देखिएको छ।

हिम्लुङ हिमाल ७ हजार १२६ मिटर अग्लो हिमाल हो। मनाङको नारफु क्षेत्रबाट यसको आरोहण गरिन्छ। पछिल्ला दिनमा हिमाली क्षेत्रमा वर्षा तथा हिमपात भइरहेको अवस्थामा हिमपहिरो गएको हो।

सम्बन्धित निकायले घटनाको थप विवरण संकलन गरिरहेको छ भने सम्भावित उद्धारका लागि समन्वय भइरहेको जनाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्