भिसा र जेपीमर्गनमाथि साइबर आक्रमण भएको ह्याकर समूहको दाबी, भिसाले तेस्रो पक्षमा भएको डेटा चुहावट स्वीकार्‍यो

insight dainik

काठमाडौं । विश्वका प्रमुख वित्तीय संस्थाहरू भिसा (Visa) र जेपीमर्गन चेज (JPMorgan Chase) साइबर अपराधी समूहको निशानामा परेको दाबी सार्वजनिक भएको छ। ‘n0n’ नामक नयाँ र्‍यानसमवेयर समूहले दुवै कम्पनीलाई आफ्नो सम्भावित साइबर आक्रमणको सूचीमा राख्दै चोरी भएको भनिएको डेटा सार्वजनिक गर्ने चेतावनी दिएको हो।

साइबर सुरक्षा समाचार संस्था साइबरन्युजका अनुसार उक्त समूहले भिसा र जेपीमर्गनसँग वार्ताका लागि ४८ घण्टाको समयसीमा तोकेको छ। तोकिएको अवधिभित्र सहमति नभए चोरी गरेको दाबी गरिएको डेटा अनलाइन सार्वजनिक गर्ने धम्की समूहले दिएको छ। यद्यपि, ह्याकरहरूले कुन प्रकारको डेटा चोरी गरेका हुन् भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।

भिसाले भने साइबर आक्रमणसम्बन्धी दाबीबारे जानकारी रहेको स्वीकार गर्दै घटना एसिया–प्रशान्त क्षेत्रमा रहेको तेस्रो पक्षीय सेवा प्रदायकसँग सम्बन्धित भएको जनाएको छ। कम्पनीका अनुसार भिसाको आफ्नै प्रणालीमा आक्रमण भएको छैन र प्रणाली प्रभावित पनि भएको छैन।

भिसाका प्रवक्ताले ग्राहकका कार्ड नम्बरलगायत भुक्तानीसम्बन्धी संवेदनशील विवरण प्रभावित भएको कुनै संकेत नरहेको बताएका छन्। यद्यपि, कुन सेवा प्रदायकमाथि आक्रमण भएको हो भन्ने विवरण कम्पनीले खुलाएको छैन।

यसैबीच, जेपीमर्गन चेजको सेवा प्रणालीमा पनि अवरोध देखिएको छ। तर बैंकले उक्त समस्या साइबर आक्रमणका कारण नभई सफ्टवेयरमा आएको त्रुटिका कारण भएको जनाएको छ। बैंकका अनुसार सेवा अवरोध र ह्याकर समूहको दाबीबीच सम्बन्ध रहेको कुनै प्रमाण फेला परेको छैन।

सेप्टेम्बरको मध्यदेखि सक्रिय देखिएको ‘n0n’ समूहले यसअघि ट्राभल कम्पनी एक्सपिडियामाथि पनि डेटा चोरी गरेको दाबी गरेको थियो। समूहले अर्बौं यात्रुका विवरण चोरी गरेको दाबी गरे पनि त्यसको स्वतन्त्र पुष्टि भइसकेको छैन।

विश्वव्यापी वित्तीय कारोबारमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीहरूको नाम जोडिएपछि घटनाले साइबर सुरक्षासम्बन्धी चिन्ता बढाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्