काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणको काम करिब ५१ प्रतिशत सम्पन्न भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको दुवैतर्फको खण्ड जोड्ने (ब्रेकथ्रु) कार्य बुधबार सम्पन्न भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको ब्रेकथ्रु गरेका हुन्। यो द्रुतमार्गमा निर्माण भइरहेका सुरुङमध्ये सबैभन्दा लामो सुरुङ हो। ब्रेकथ्रु कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो।
नेपाली सेनाका अनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु सम्पन्न भइसकेको थियो। महादेवटार सुरुङको ब्रेकथ्रुसँगै सुरुङ निर्माणको कामले थप गति लिने अपेक्षा गरिएको छ।
आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको सेनाले जनाएको छ। उच्च प्रविधियुक्त पुललगायत द्रुतमार्गका अन्य संरचना निर्माणको काम पनि अघि बढिरहेको छ।
२०७४ देखि निर्माण, पटक–पटक म्याद थप
सरकारले २०७४ वैशाख २१ गते काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सेनाले २०७४ भदौदेखि निर्माण कार्य सुरु गरेको हो। सुरुमा चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले निर्धारित समयमा काम पूरा हुन सकेन।
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिमा भएको ढिलाइ, कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या तथा निर्माणसम्बन्धी प्राविधिक चुनौतीले आयोजनाको काम प्रभावित भएको थियो।
सुरुमा २०८१ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको समयसीमा पछि २०८३ चैत मसान्तसम्म थपिएको थियो। तर उक्त अवधिमा पनि आयोजना सम्पन्न नहुने भएपछि सरकारले २०८३ साउनमा पुनः तीन वर्ष म्याद थप गर्ने निर्णय गरेको हो। पछिल्लो समयसीमाअनुसार आयोजना २०८६ चैत मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ।
खोकना–दुम्किसाप क्षेत्रमा जग्गा विवाद मुख्य चुनौती
हाल आयोजनाको प्रमुख चुनौती ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा रहेको जग्गा अधिग्रहणसम्बन्धी विवाद हो। उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको समस्या समाधानका लागि पहल भइरहेको नेपाली सेनाले जनाएको छ। विवाद समाधान भएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइनेछ।
७०.९७७ किलोमिटर लामो द्रुतमार्ग
काठमाडौंको खोकनादेखि बाराको निजगढसम्म जोड्ने द्रुतमार्गको कुल लम्बाइ करिब ७०.९७७ किलोमिटर छ। आयोजना सम्पन्न भएपछि काठमाडौं र तराईबीचको यात्रा अवधि उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ। यसबाट राजधानी र मधेसबीचको आवागमन सहज हुनुका साथै व्यापार, पर्यटन, ढुवानी र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजनालाई पछिल्लो निर्धारित समयसीमाभित्र सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ। साथै नेपाल सरकार, रक्षा मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, प्रदेश तथा स्थानीय तह र सम्बन्धित निकायले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्