काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभरका इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीलाई आफ्नो आम्दानी, दूरसञ्चार सेवा दस्तुर दाखिला तथा त्यससँग सम्बन्धित कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ।
प्राधिकरणले गत आर्थिक वर्ष २०८२/८३ र चालू आर्थिक वर्षको असोज मसान्तसम्मको विवरण माग गरेको हो। अनुमतिपत्र लिएर इन्टरनेट सेवा सञ्चालन गरिरहेका सबै सेवा प्रदायकले तोकिएको समयभित्र विवरण बुझाउनुपर्नेछ।
प्राधिकरणले इन्टरनेट कम्पनीसँग निम्न विवरण माग गरेको छ :
इन्टरनेट बिक्रीबाट प्राप्त आय : इन्टरनेट सेवा बिक्री गरी प्राप्त गरेको कुल आम्दानी।
मर्मतसम्भारबाट प्राप्त आय : इन्टरनेट जडान तथा मर्मतसम्भार सेवाबाट प्राप्त आम्दानी।
उपकरण बिक्रीबाट प्राप्त आय : राउटरलगायत अन्य उपकरण बिक्रीबाट भएको आम्दानी।
अन्य स्रोतबाट प्राप्त आय : अन्य गतिविधिबाट प्राप्त आम्दानीको छुट्टै विवरण।
कुल आम्दानी : सबै स्रोतबाट प्राप्त भएको कुल आय।
दूरसञ्चार सेवा दस्तुर : नेपाल सरकारको राजस्व खातामा दाखिला गरिएको दस्तुरको रकम।
दाखिला मिति : दस्तुर बुझाएको मिति।
ब्याज रकम : तोकिएको समयभन्दा ढिलो दस्तुर बुझाएको भए त्यसबापत दाखिला गरिएको ब्याज।
कुल दाखिला रकम : मूल दस्तुर र ब्याजसहित सरकारलाई बुझाइएको कुल रकम।
प्राधिकरणले प्रत्येक महिनाको विवरण छुट्टाछुट्टै तयार गरी तोकिएको ढाँचामा पेस गर्न भनेको छ। साथै, दस्तुर दाखिला गरेको पुष्टि हुने बैंक भौचर तथा अन्य आवश्यक कागजातसमेत संलग्न गर्नुपर्नेछ।
आर्थिक ऐन, २०६३ को दफा ८ को उपदफा ५ मा रहेको व्यवस्थाअनुसार दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल दूरसञ्चार प्राधिकरणले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ। सोही कानुनी व्यवस्थाका आधारमा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग विवरण माग गरेको जनाएको छ।
यस निर्देशनसँगै इन्टरनेट कम्पनीहरूको वास्तविक आम्दानी, सरकारलाई बुझाउनुपर्ने दूरसञ्चार सेवा दस्तुर र त्यसको नियमित दाखिलाको अवस्थाबारे प्राधिकरणले निगरानी तथा अनुगमन गर्ने भएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्