एआईबाट फेरि पर्दामा फर्किइन् ग्रेटा गार्बो

insight dainik

काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री ग्रेटा गार्बोको निधन भएको दशकौँपछि उनको स्वरूप र आवाजलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमार्फत पुनः पर्दामा ल्याइएको छ। गार्बोको एआई स्वरूप स्विडेनको औद्योगिक कम्पनी एसकेएफको बल बेयरिङसम्बन्धी विज्ञापनमा देखाइएको हो।

गार्बोका आफन्त तथा उनको नाम, स्वरूप र विरासतसम्बन्धी अधिकार व्यवस्थापन गर्दै आएका प्रतिनिधिले एआईमार्फत तयार गरिएको उनको स्वरूपलाई भविष्यमा फिल्ममा समेत प्रयोग गर्न सकिने सम्भावना खुला रहेको बताएका छन्। गार्बोका आफन्तमध्येका एक क्रेग रिसफिल्डले एआईबाट तयार गरिएको स्वरूप निकै जीवन्त र प्रभावशाली रहेको बताएका छन्।

गार्बोले सन् १९२१ मा एसकेएफसँग सम्बन्धित प्रचारात्मक चलचित्रमा अभिनय गरेकी थिइन्। त्यसपछि उनी मौन चलचित्र हुँदै बोल्ने चलचित्रको युगमा समेत सफल अभिनेत्री बनेकी थिइन्। ‘ग्रान्ड होटल’ र ‘क्यामिल’ जस्ता चलचित्रमा उनको अभिनय चर्चित छ। ‘ग्रान्ड होटल’मा उनको चर्चित संवाद ‘I want to be alone’ समेत एआईमार्फत तयार गरिएको विज्ञापनको अन्त्यमा प्रयोग गरिएको छ।

एसकेएफका लागि तयार गरिएको ९९ सेकेन्ड लामो विज्ञापनमा एआईबाट गार्बोको अनुहार, पहिरन र हाउभाउ पुनः सिर्जना गरिएको छ। निर्माणकर्ताले गार्बोका पुराना तस्बिर वा चलचित्रका दृश्य एआईमा प्रयोग नगरी पाठ निर्देशनमार्फत उनको स्वरूप तयार गरेको बताएका छन्। त्यसपछि एक वास्तविक कलाकारले अभिनय गरेको दृश्यमा एआईबाट तयार गरिएको गार्बोको स्वरूप राखिएको थियो। उनको आवाज भने पुरानो चलचित्रको रेकर्डिङबाट पुनः सिर्जना गरिएको हो।

एआई प्रविधिबाट दिवंगत कलाकारलाई पुनः पर्दामा ल्याउने अभ्यासले चलचित्र क्षेत्रमा नयाँ सम्भावना देखाए पनि यसले कलाकारको अधिकार, अनुमति र विरासतको प्रयोगबारे बहससमेत बढाएको छ।

गार्बोका अधिकार व्यवस्थापकहरूले उनको नाम, आवाज र स्वरूपको प्रयोगमा आफूहरू निकै छनोटशील रहेको बताएका छन्। यसअघि उनको स्वरूप विभिन्न अन्तर्राष्ट्रिय फेसन ब्रान्डका प्रचारमा प्रयोग भइसके पनि एसकेएफको विज्ञापन उनको पहिलो एआई चलचित्र प्रस्तुति भएको बताइएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्