चोरी भएका देवीदेवता आफ्नै समुदायमा फर्काउन भक्तपुरमा ‘ब्रिङ मी होम’ महोत्सव सुरु
काठमाडौं । नेपालबाट चोरी तथा अवैध रूपमा विदेश पुर्याइएका धार्मिक र सांस्कृतिक सम्पदा फिर्ता ल्याई तिनलाई आफ्नै समुदायमा पुनःस्थापना गर्ने उद्देश्यसहित भक्तपुरमा ‘ब्रिङ मी होम’ महोत्सव सुरु भएको छ।
नमुना फाउन्डेसनले भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेसनल एकेडेमीमा आइतबारदेखि महोत्सव आयोजना गरेको हो। सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सुरु भएको महोत्सवको उद्घाटनमा विभिन्न देशका राजदूत, कूटनीतिक प्रतिनिधि तथा सम्पदा संरक्षणकर्मी सहभागी थिए।
कार्यक्रममा नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बास, अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, स्विट्जरल्यान्डकी राजदूत डा. डानिएल म्युली, नर्वेकी राजदूत डाग्नी म्योस, पूर्वअस्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र युनेस्कोका नेपाल प्रतिनिधि जाको डु टोइटलगायतको उपस्थिति थियो।
महोत्सवको परिकल्पना तथा संयोजन नमुना फाउन्डेसनकी कार्यक्रम संयोजक श्रीना नेपालले गरेकी हुन्। फाउन्डेसनका संस्थापक रविन्द्र पुरीको मार्गदर्शनमा सञ्चालन भएको अभियानले सन् २००३ देखि सम्पदा संरक्षण र चोरी भएका सांस्कृतिक वस्तु फिर्ता ल्याउने विषयमा जनचेतना फैलाउँदै आएको छ।
उद्घाटन कार्यक्रममा पुरीले आफूले सन् २००३ मा एक्लै सुरु गरेको सम्पदा संरक्षण अभियान अहिले सामूहिक प्रयासका रूपमा विस्तार भएको बताए। उनले सम्पदा चोरी र अवैध कारोबारविरुद्ध सम्बन्धित सबै सरकारी निकाय एकजुट हुनुपर्नेमा जोड दिए।
युनेस्को प्रतिनिधि जाको डु टोइटले सन् १९७० को महासन्धिले सांस्कृतिक सम्पदाको संरक्षण, अवैध व्यापार रोकथाम र उत्पत्तिस्थलमा फिर्तीका लागि अन्तर्राष्ट्रिय सहकार्यको साझा आधार प्रदान गरेको बताए। उनले सम्बन्धित दाबी र प्रमाणको पहिचान तथा आदानप्रदान सहज बनाउन दूतावासहरूले सम्पर्क व्यक्ति तोक्नुपर्ने सुझाव दिए।
महोत्सवकी संयोजक श्रीना नेपालले पर्याप्त प्रमाण जुटिसक्दा पनि पवित्र सम्पदा फिर्ता ल्याउन कठिनाइ हुने गरेको बताइन्। उनका अनुसार चोरी भएका देवीदेवताका मूर्ति राष्ट्रिय संग्रहालयमा मात्र नभई तिनका मूल समुदाय र मन्दिरमा फर्काइनु अभियानको मुख्य उद्देश्य हो।
अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले नेपालमा मात्र नभई विश्वभर सांस्कृतिक सम्पदा फिर्ता ल्याउने अभियान चलिरहेको बताए। उनले अस्ट्रेलियाका आदिवासी समुदायबाट लगिएका सांस्कृतिक सामग्री र मानव अवशेष फिर्ता गर्ने प्रयासको पनि उल्लेख गरे।
महोत्सव नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। आवश्यकताअनुसार थप एक साता लम्ब्याउन सकिने आयोजकले जनाएको छ। महोत्सवमा ढुंगा तथा काठ कुँदाइको प्रत्यक्ष प्रदर्शन, वृत्तचित्र प्रदर्शनी, चोरी भएका सम्पदाका प्रतिकृति र सम्पदा फिर्तीसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम राखिएका छन्। यसले विशेषगरी युवा पुस्तालाई सम्पदा चोरीदेखि अनुसन्धान र पुनःस्थापनासम्मको प्रक्रियाबारे जानकारी दिने अपेक्षा गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्