काठमाडौं । गाजापट्टीको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणको पाकिस्तानसहित १८ मुस्लिम राष्ट्रले कडा निन्दा गरेका छन्। अस्पताल परिसरमा गरिएको आक्रमणमा बिरामी तथा स्वास्थ्यकर्मीसमेत मारिएको घटनाप्रति ती राष्ट्रले गम्भीर आपत्ति जनाएका हुन्।
कतारको विदेश मन्त्रालयले शनिबार सार्वजनिक गरेको संयुक्त वक्तव्यमा इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन भन्दै तत्काल यस्ता गतिविधि रोक्न माग गरिएको छ।
संयुक्त वक्तव्यमा कतार, जोर्डन, संयुक्त अरब इमिरेट्स (यूएई), इन्डोनेसिया, पाकिस्तान, टर्की, अल्जेरिया, जिबूती, साउदी अरब, सुडान, सोमालिया, ओमान, प्यालेस्टाइन, कुवेत, लेबनान, लिबिया, इजिप्ट र मौरिटानियाका विदेशमन्त्रीहरूले हस्ताक्षर गरेका छन्।
वक्तव्यमा प्यालेस्टिनी नागरिकमाथि इजरायलले निरन्तर गर्दै आएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अस्पताल, बिरामी र स्वास्थ्यकर्मीलाई समेत निशाना बनाइनु गम्भीर मानवीय संकटको विषय भएको उल्लेख गरिएको छ।
विदेशमन्त्रीहरूले यस्ता आक्रमणले गाजामा लागू भएको युद्धविराम सम्झौतालाई कमजोर बनाउने र त्यहाँ सुरक्षा तथा स्थिरता पुनर्स्थापित गर्ने अन्तर्राष्ट्रिय प्रयासमा बाधा पुर्याउने बताएका छन्।
गाजामा जारी हिंसा अन्त्य गर्न तथा सर्वसाधारणको सुरक्षाको सुनिश्चितता गर्न अन्तर्राष्ट्रिय समुदायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।
यसैगरी, संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको योजनाप्रति समेत असहमति व्यक्त गरिएको छ। गाजाको भविष्य र प्यालेस्टिनी जनताको अधिकारसँग सम्बन्धित विषयमा उनीहरूको धारणा र आकांक्षालाई बेवास्ता गर्न नहुने सन्देश वक्तव्यमा दिइएको छ।
पाकिस्तानसहित १८ राष्ट्रको यो संयुक्त वक्तव्यले गाजामा जारी मानवीय संकटप्रति मुस्लिम राष्ट्रहरूको साझा चिन्ता र इजरायली सैन्य कारबाहीप्रतिको कूटनीतिक विरोधलाई पुनः उजागर गरेको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्