काठमाडौं । नेपालमा भर्खरै सेवा सुरु गरेको अन्तर्राष्ट्रिय राइड सेयरिङ कम्पनी उबरका हजारौँ अमेरिकी चालकहरूको व्यक्तिगत विवरण साइबर आक्रमणमार्फत चोरी भएको छ। कम्पनीले तेस्रो पक्षीय प्रविधि सेवा प्रदायकको प्रणालीमा भएको सुरक्षा कमजोरीका कारण आफ्ना चालकहरूको संवेदनशील सूचना अनधिकृत व्यक्तिको पहुँचमा पुगेको पुष्टि गरेको हो।
प्राप्त विवरणअनुसार उबरको डेटा व्यवस्थापनमा सहयोग गर्दै आएको ‘फायरवर्क्स एआई’ नामक प्रविधि सेवा प्रदायकमाथि ह्याकरहरूले आक्रमण गरेका थिए। उक्त कम्पनीका आन्तरिक लगइन विवरण चोरी गरी आक्रमणकारीहरूले उबरसँग सम्बन्धित खातामा पहुँच बनाएका थिए। त्यसक्रममा चालकहरूको व्यक्तिगत विवरण तथा चालक अनुमतिपत्रसम्बन्धी जानकारीसमेत चोरी भएको बताइएको छ।
उबरलाई यस घटनाबारे सन् २०२६ अक्टोबर ९ मा पहिलो पटक जानकारी प्राप्त भएको थियो। त्यसपछि कम्पनीले सम्बन्धित सेवा प्रदायकसँगका डेटा सम्पर्क विच्छेद गरी अनुसन्धान सुरु गरेको जनाएको छ। अक्टोबर १३ मा गरिएको अनुसन्धानबाट आक्रमणकारीहरूले उबरसँग सम्बन्धित डेटामा अनधिकृत पहुँच बनाएको पुष्टि भएको थियो।
अमेरिकाका विभिन्न राज्यमा सार्वजनिक गरिएका विवरणअनुसार म्यासाचुसेट्समा २ हजार ५६७, साउथ क्यारोलिनामा ३ हजार ४३० र रोड आइल्याण्डमा १ हजार ८७३ जना प्रभावित भएका छन्। यी तीन राज्यमा मात्रै ७ हजार ८७० जना प्रभावित भएको देखिन्छ। अन्य राज्यमा समेत सूचना पठाइएकाले वास्तविक प्रभावितको सङ्ख्या अझ बढी हुन सक्ने अनुमान छ।
कम्पनीले हालसम्म चोरी भएका विवरणको दुरुपयोग भएको प्रमाण फेला नपरेको जनाएको छ। प्रभावित चालकहरूलाई क्रेडिट निगरानी तथा ठगीसम्बन्धी सहायता सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।
उबरले चालकहरूलाई व्यक्तिगत सूचना पत्र ध्यानपूर्वक पढ्न, बैंक कारोबार नियमित जाँच गर्न र शङ्कास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ।
यस घटनाले कम्पनीहरूले आफ्नै प्रणाली मात्र सुरक्षित बनाएर नपुग्ने, उनीहरूसँग जोडिएका तेस्रो पक्षीय सेवा प्रदायकको साइबर सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ। नेपालमा समेत उबरको सेवा सुरु भएको सन्दर्भमा यस घटनाले प्रयोगकर्ताको व्यक्तिगत विवरणको सुरक्षा र डेटा व्यवस्थापनबारे थप चासो बढाएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्