चार दिनसम्म मनाइन्छ छठ पर्व, आज खरना, भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

insight dainik

काठमाडौं । सूर्य उपासनाको महापर्व छठ आज शनिबार देशभर दोस्रो दिनको विधि ‘खरना’ मनाइँदैछ। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने यस पर्वको सुरुवात शुक्रबार नहाय–खायबाट भएको हो। यस वर्ष कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न हुनेछ।

छठ पर्वको पहिलो दिन नहाय–खायमा व्रतालुहरूले स्नान गरी घर तथा भान्सा सफा गरेर शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन्। दोस्रो दिन अर्थात् आज खरना विधि गरिन्छ। यस दिन व्रतालुहरू दिनभर उपवास बसेर साँझ नयाँ माटोको चुलोमा सख्खर र दूधबाट खीर तथा रोटी पकाउँछन्। उक्त प्रसाद छठी मातालाई चढाएर परिवारका सदस्यसँग ग्रहण गरिन्छ। त्यसपछि करिब ३६ घण्टासम्म चल्ने निर्जला व्रत सुरु हुन्छ।

पर्वको तेस्रो दिन भोलि आइतबार साँझ व्रतालुहरू नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। बाँसको सुप र डालामा केरा, नरिवल, उखु, ठेकुवा, फलफूललगायत प्रसाद सजाएर सूर्यदेवको पूजा गरिन्छ। चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत सम्पन्न हुनेछ। यसलाई पारन भनिन्छ।

धार्मिक महत्व र प्रचलित किंवदन्ती

छठ पर्वमा सूर्यदेवलाई जीवन, ऊर्जा, प्रकाश र समृद्धिको स्रोतका रूपमा पूजा गरिन्छ भने छठी मातालाई सन्तानको रक्षा तथा परिवारको कल्याण गर्ने देवीका रूपमा श्रद्धा गरिन्छ। धार्मिक विश्वासअनुसार छठ व्रत गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि, सन्तानको दीर्घायु र मनोकामना पूरा हुने विश्वास छ।

प्रचलित किंवदन्तीअनुसार महाभारतका सूर्यपुत्र कर्ण सूर्यदेवका परम भक्त थिए। उनी नियमित रूपमा नदीमा उभिएर सूर्यलाई अर्घ्य दिने गर्थे। त्यस्तै, द्रौपदी र माता सीताको सूर्य उपासनासँग पनि छठ पर्वलाई जोडेर विभिन्न लोककथा प्रचलित छन्। राजा प्रियव्रत र षष्ठी देवी अर्थात् छठी मातासम्बन्धी कथाले पनि यस पर्वको धार्मिक महत्वलाई दर्शाउँछ। यी कथाहरू धार्मिक तथा लोकपरम्परामा आधारित मान्यता हुन्।

काठमाडौं उपत्यकामा १७ स्थानमा छठको तयारी

छठ पर्वका लागि काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा १७ स्थानमा घाट निर्माण, सरसफाइ र व्यवस्थापन गरिएको छ।

काठमाडौंका गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, थापाथलीस्थित बागमती किनार, टेकु, वंशीघाट, कुपण्डोल, बल्खु, विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारालगायत स्थानमा छठ पूजा गर्ने व्यवस्था मिलाइएको छ।

गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ। घाटमा पाल, बत्ती तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ।

विशेषगरी तराई–मधेसमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ। धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान र पारिवारिक एकताको सन्देश दिने यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिन्छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्