एयर ट्राफिक कन्ट्रोलका राडार तथा सञ्चार प्रणालीमा समस्या आएपछि हजारौँ उडान प्रभावित, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ
काठमाडौं । अमेरिकामा एयर ट्राफिक कन्ट्रोलका सञ्चार तथा राडार प्रणालीमा प्राविधिक समस्या आएपछि देशव्यापी रूपमा रोकिएका हवाई उडान पुनः सञ्चालनमा आएका छन्। अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार लगाएको ‘ग्राउन्ड स्टप’ आदेश हटाएपछि विमानस्थलबाट उडानहरू क्रमशः सुरु भएका हुन्।
नोभेम्बर १३ मा भएको उक्त घटनाका कारण अमेरिकाभित्रका हजारौँ उडान प्रभावित भएका थिए। यसको असर अमेरिका र क्यानडाबीचका उडानका साथै अमेरिकी हवाई क्षेत्र प्रयोग गर्ने अन्तर्राष्ट्रिय उडानमा समेत परेको थियो।
अमेरिकी यातायात सचिव सिन डफीका अनुसार शुक्रबार दिउँसो ३ः३६ बजे पूर्वी अमेरिकी समयदेखि एफएएका राडार तथा सञ्चार प्रणालीमा अस्थिरता देखिएको थियो। देशका विभिन्न क्षेत्रका एयर ट्राफिक कन्ट्रोल केन्द्रमा समस्या देखिएपछि हवाई सुरक्षालाई ध्यानमा राख्दै सबै प्रस्थान गर्ने उडान रोक्ने निर्णय गरिएको थियो।
प्राविधिक टोलीले प्रणालीमा देखिएको समस्या अनुसन्धान तथा समाधानका लागि काम गरेपछि एफएएले उडान सञ्चालनको अनुमति दिएको हो। यद्यपि, उडान पुनः सुरु भए पनि विमान, चालक दल र उडान तालिका व्यवस्थापनमा परेको असरका कारण केही समयसम्म ढिलाइ र रद्द हुने क्रम जारी रहन सक्ने अधिकारीहरूले बताएका छन्।
यस घटनाबाट क्यानडाका टोरन्टो पियर्सन, भ्यानकुभर, एडमन्टन, मोन्ट्रियल–ट्रुडो र क्यालगरीलगायत विमानस्थलसमेत प्रभावित भएका थिए। क्यानडाको हवाई यातायात व्यवस्थापन गर्ने संस्था ‘नाभ क्यानडा’ले अमेरिकी ग्राउन्ड स्टप हटाइएको पुष्टि गर्दै यात्रुलाई आफ्नो उडानको अवस्थाबारे सम्बन्धित वायुसेवासँग जानकारी लिन आग्रह गरेको छ।
यसैबीच, अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले उक्त समस्या साइबर आक्रमणका कारण भएको कुनै संकेत नरहेको बताएका छन्। प्रारम्भिक जानकारीअनुसार यो दूरसञ्चार प्रणालीमा आएको अवरोध हो। उनले घटनाका कारण यात्रुहरूको ज्यान जोखिममा नपरेको पनि स्पष्ट पारेका छन्।
अमेरिकी हवाई यातायात प्रणालीमा पुराना उपकरण, सञ्चार समस्या र एयर ट्राफिक कन्ट्रोलरको अभावका कारण चुनौती रहँदै आएको छ। प्रणाली आधुनिकीकरणका लागि गत वर्ष अमेरिकी संसद्ले १२ अर्ब ५० करोड डलर स्वीकृत गरेको थियो। अहिले थप ३० अर्ब १० करोड डलर आपत्कालीन बजेट माग गरिएको छ।
उडान पुनः सञ्चालनमा आए पनि हवाई यातायात पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने अनुमान गरिएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्