ह्वाइट हाउस नजिकै मोल्ड विवादले लियो हिंसात्मक रूप, भवन व्यवस्थापकको हत्या गरेपछि चिकित्सकद्वारा आत्महत्या

insight dainik

वासिङ्टन डीसी। अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर उत्तरमा रहेको लोगन सर्कल क्षेत्रमा भवनको मर्मतसम्भार र ढुसी (मोल्ड) सम्बन्धी लामो समयदेखिको विवादले हिंसात्मक रूप लिँदा एक भवन व्यवस्थापकको गोली हानी हत्या भएको छ। घटनामा अन्य चार जना घाइते भएका छन् भने गोली चलाउने चिकित्सकले पनि आत्महत्या गरेका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान स्थानीय समयअनुसार एक अपार्टमेन्ट भवनभित्र रहेको जिममा गोली प्रहार सुरु भएको थियो। घटनामा भवनका व्यवस्थापक ४६ वर्षीय जेम्स स्टुअर्टको घटनास्थलमै मृत्यु भएको थियो। गोली लागेर घाइते भएका चार जनालाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

गोली चलाउने व्यक्ति ५५ वर्षीय चिकित्सक म्याट वेड ल्याम्बर्ट रहेको प्रहरीले पहिचान गरेको छ। जिममा गोली चलाएपछि उनी भवनको सातौँ तलास्थित आफ्नो अपार्टमेन्टमा गएर आफूलाई थुनेका थिए। त्यस क्रममा उनले आफ्नो बाल्कोनीबाट जमिनतर्फ रहेका अन्य व्यक्तिमाथि समेत गोली चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

प्रहरीका अनुसार अपार्टमेन्टभित्र लुकेका ल्याम्बर्टले प्रहरी अधिकारीतर्फ पनि कम्तीमा दुई पटक गोली चलाएका थिए। वार्ताकारहरूले उनीसँग फोनमा कुराकानी गरिरहेका बेला गोली चलेको आवाज सुनिएको र त्यसपछि सम्पर्क विच्छेद भएको बताइएको छ। पछि प्रहरीले अपार्टमेन्टभित्र प्रवेश गर्दा उनी आफैँलाई गोली हानेको अवस्थामा मृत फेला परेका थिए।

प्रहरीले घटनास्थलबाट तीनवटा बन्दुक र ज्वलनशील तरल पदार्थ राखिएका कन्टेनरसमेत बरामद गरेको छ। घटनामा प्रयोग भएका सबै बन्दुक उनले नै चलाएको प्रहरीको भनाइ छ। उनको नाममा वासिङ्टन डीसीमा कुनै पनि बन्दुक दर्ता नभएको पनि प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ल्याम्बर्ट र भवन व्यवस्थापन पक्षबीच एक वर्षभन्दा बढी समयदेखि विवाद चलिरहेको थियो। भवनको मर्मतसम्भारका क्रममा पानी चुहिएर अपार्टमेन्टमा गम्भीर ढुसी (ब्ल्याक मोल्ड) उत्पन्न भएको र त्यसले आफ्नो बसोबास असहज बनाएको भन्दै उनले भवन व्यवस्थापन तथा कन्डोमिनियम एसोसिएसनविरुद्ध कानुनी मुद्दासमेत दायर गरेका थिए।

उनले यसअघि आफ्नो महँगो पेन्टहाउस बस्नै नसकिने अवस्थामा पुगेको र त्यसले आफ्नो निद्रा तथा दैनिक जीवनमा असर पारेको बताएका थिए।

प्रहरीले घटनाको वास्तविक कारण, योजनाबद्ध तयारी र घटनाक्रमबारे थप अनुसन्धान भइरहेको जनाएको छ। वासिङ्टन डीसीकी मेयर मुरियल बाउजरले घटनालाई बन्दुक हिंसाको अर्थहीन र दुःखद घटना भन्दै दुःख व्यक्त गरेकी छन्।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्