किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पुर्‍याएको आरोपमा मेटा र टिकटकद्वारा करोडौँ डलर क्षतिपूर्ति

insight dainik

काठमाडौं । सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण किशोरकिशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको आरोपसम्बन्धी मुद्दामा विश्वका प्रमुख प्रविधि कम्पनी मेटा र टिकटकले गोप्य रूपमा करोडौँ अमेरिकी डलर क्षतिपूर्ति तिरेका छन्।

ब्लुमबर्ग बिजनेसवीकले नोभेम्बर १२ मा प्रकाशित गरेको विशेष रिपोर्टअनुसार पछिल्ला केही महिनामा सामाजिक सञ्जाल कम्पनीहरूले किशोर प्रयोगकर्तासँग सम्बन्धित कम्तीमा एक दर्जन मुद्दामा गोप्य सम्झौता गरेका छन्। तीमध्ये अधिकांश सम्झौतामा प्रतिवादी किशोरकिशोरीलाई दुईदेखि २५ लाख अमेरिकी डलरसम्म भुक्तानी गरिएको छ।

रिपोर्टअनुसार पछिल्लो दुई साताभित्र मात्रै मेटा प्लेटफर्म्स इंकले दुई जना किशोरकिशोरीलाई संयुक्त रूपमा ७० लाख अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएको छ। यो जानकारी कम्पनीसँगको भुक्तानी प्रक्रियाबारे जानकार स्रोतहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो। गोपनीयताको सर्तका कारण स्रोतहरूले आफ्नो परिचय खुलाउन चाहेका छैनन्।

मुद्दा दायर गर्ने किशोरकिशोरीहरूले सामाजिक सञ्जालको डिजाइन, निरन्तर प्रयोग गर्न प्रेरित गर्ने प्रणाली तथा विभिन्न डिजिटल सुविधाका कारण आफूहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको दाबी गरेका छन्। उनीहरूले सामाजिक सञ्जालको लत, मानसिक तनाव तथा अन्य मनोवैज्ञानिक समस्याका लागि सम्बन्धित कम्पनीहरू जिम्मेवार रहेको आरोप लगाएका छन्।

यसअघि पनि मेटा, टिकटकलगायत सामाजिक सञ्जाल कम्पनीहरू बालबालिका तथा किशोरकिशोरीको अनलाइन सुरक्षाका विषयमा विभिन्न कानुनी चुनौतीको सामना गर्दै आएका छन्। विशेषगरी कम उमेरका प्रयोगकर्तालाई लक्षित सामग्री, अत्यधिक स्क्रिन समय र प्रयोगकर्तालाई लामो समयसम्म प्लेटफर्ममा राख्ने एल्गोरिदमप्रति प्रश्न उठ्दै आएको छ।

गोप्य सम्झौतामार्फत केही मुद्दा टुंगिए पनि बाँकी व्यक्तिगत क्षतिपूर्तिसम्बन्धी मुद्दाहरूले कम्पनीहरूलाई अर्बौँ डलरसम्मको आर्थिक दायित्वमा पार्न सक्ने सम्भावना रहेको रिपोर्टमा उल्लेख छ।

यस घटनाले सामाजिक सञ्जाल कम्पनीहरूको व्यावसायिक जिम्मेवारी, बालबालिकाको डिजिटल सुरक्षा र मानसिक स्वास्थ्य संरक्षणसम्बन्धी बहसलाई थप गम्भीर बनाएको छ। साथै, प्रविधि कम्पनीहरूले आफ्ना प्लेटफर्मलाई बालमैत्री र सुरक्षित बनाउन थप जिम्मेवारी लिनुपर्ने दबाब पनि बढ्ने देखिएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्