रुपन्देही, २६ कात्तिक। देउसीभैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले रुपन्देहीका विभिन्न स्थानमा सञ्चालन भएका देउसीभैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी नृत्य प्रदर्शन गरेको आरोप छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बुधबार राति करिब १२ः०५ बजे लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेका दुवै महिलामाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तिहारको सांस्कृतिक परम्परासँग जोडिएको देउसीभैलो मनोरञ्जनसँगै नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भाव अभिव्यक्त गर्ने माध्यमका रूपमा लिइन्छ। यसैबीच, सांस्कृतिक कार्यक्रमका नाममा सार्वजनिक मर्यादा र सामाजिक शिष्टाचारविपरीतका गतिविधि भएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्