भारतको बनगाउँ बजारमा भीषण आगलागी : नेपाली दमकलको सहयोगमा नियन्त्रण, ६० पसल खरानी

insight dainik

धनगढी । भारतको उत्तर प्रदेशस्थित बनगाउँ बजारमा भीषण आगलागी हुँदा करिब ६० वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आइतबार साँझ भएको आगलागीबाट ५० देखि ७० करोड रुपैयाँसम्मको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

कैलालीको धनगढीसँग सीमा जोडिएको भारतको लखिमपुर जिल्ला, कजरिया पञ्चायतअन्तर्गत पर्ने बनगाउँ बजारमा आइतबार साँझ करिब ७ बजे आगलागी सुरु भएको थियो। नेपाली उपभोक्तालाई लक्षित गरी सञ्चालन हुँदै आएको यस बजारमा आगलागी भएपछि ठूलो आर्थिक क्षति भएको हो।

स्थानीय व्यवसायी दीपक अग्रवालका अनुसार बजारमा रहेको एक भाँडा पसलमा विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। एउटा पसलबाट सुरु भएको आगो समयमै नियन्त्रणमा लिन नसक्दा आसपासका पसलमा फैलिएको थियो।

पसलहरू एकआपसमा टाँसिएर निर्माण गरिएका कारण आगो तीव्र गतिमा फैलिएको र नियन्त्रणमा लिन कठिन भएको स्थानीय व्यवसायीले बताएका छन्। आगलागीबाट पसलभित्र रहेका सामान, नगद तथा अन्य व्यापारिक सामग्री जलेर नष्ट भएका छन्।

आगो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाबाट दुईवटा दमकल घटनास्थलमा पुगेका थिए। बनगाउँबाट भारतको पलिया बजार करिब ५० किलोमिटर टाढा रहेकाले त्यहाँबाट दमकल आउन ढिलाइ हुने भएपछि स्थानीय व्यवसायीले धनगढी उपमहानगरपालिकासँग सहयोग मागेका थिए।

नेपाली तथा भारतीय सुरक्षाकर्मी र स्थानीयवासीको संयुक्त प्रयासपछि राति करिब ११ बजे आगो नियन्त्रणमा आएको व्यवसायी अग्रवालले जानकारी दिएका छन्।

स्थानीय व्यवसायी अङ्कित गुप्ताका अनुसार आगलागीबाट ५० देखि ७० करोड रुपैयाँसम्मको क्षति भएको अनुमान छ। यद्यपि क्षतिको वास्तविक विवरण संकलन हुन बाँकी रहेको छ।

नेपाली उपभोक्ताको प्रमुख किनमेल गन्तव्यका रूपमा रहेको बनगाउँ बजारमा दैनिक ठूलो संख्यामा नेपाली ग्राहक पुग्ने गर्छन्। सीमावर्ती नेपाली उपभोक्तालाई लक्षित गरी सञ्चालन भएका दर्जनौँ पसलमध्ये ठूलो संख्यामा पसल नष्ट भएपछि स्थानीय व्यवसायी आर्थिक संकटमा परेका छन्।

आगलागीको वास्तविक कारण र क्षतिको यकिन विवरणबारे सम्बन्धित निकायबाट थप अनुसन्धान तथा मूल्याङ्कन हुन बाँकी छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्