हुम्ला । हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिका–५ र ६ अन्तर्गत पर्ने दुर्गम लिमी क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएको छ। सडक अवरुद्ध भएपछि स्थानीयवासीलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न कठिनाइ भएको छ। समस्यालाई ध्यानमा राख्दै अवरुद्ध सडक खुलाउन न्यालुलेकमा जमेको हिउँ पन्छाउने काम सुरु गरिएको छ।
गत असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि भएको हिमपातका कारण लिमी–लाप्चा सडकखण्डको करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेक हिउँले ढाकिएको हो। बाक्लो हिउँ जम्दा सवारीसाधन सञ्चालन हुन नसकेपछि लिमीवासी बाह्य क्षेत्रसँगको सडक सम्पर्कबाट विच्छेद भएका छन्।
नाम्खा गाउँपालिका र पूर्वाधार विकास कार्यालय सिमकोटको संयुक्त पहलमा मंसिर १९ गतेदेखि हिउँ हटाउने काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ। सडक सञ्चालनमा ल्याएर स्थानीयको आवतजावत सहज बनाउनुका साथै खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने वातावरण तयार पार्ने उद्देश्यले काम अघि बढाइएको हो।
हिउँ पन्छाउने कामको अवस्था बुझ्न नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा र पूर्वाधार विकास कार्यालयका कर्मचारी न्यालुलेक पुगेका थिए। उनीहरूले प्रतिकूल मौसम र कठिन भौगोलिक परिस्थितिका बीच भइरहेको कामको स्थलगत निरीक्षण गरेका छन्।
हिउँ पन्छाउन चुनौती
समुद्री सतहबाट करिब पाँच हजार दुई सय मिटर उचाइमा रहेको न्यालुलेकमा हिउँ हटाउनु सहज छैन। अत्यधिक चिसो, प्रतिकूल मौसम र कठिन भूगोलका कारण सडक खुलाउने काम चुनौतीपूर्ण बनेको छ।
गाउँपालिका अध्यक्ष लामाका अनुसार लिमीवासीको दैनिक जनजीवन सहज बनाउन सडक सञ्चालनमा ल्याउनु अत्यावश्यक छ। सडक खुलेपछि स्थानीयको आवतजावतसँगै खाद्यान्न तथा अन्य दैनिक उपभोग्य वस्तुको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।
हिमपातका कारण हरेक वर्षजसो लिमी क्षेत्रको सडक सम्पर्क प्रभावित हुँदै आएको छ। भौगोलिक विकटताका कारण सडक अवरुद्ध हुँदा स्थानीयले खाद्यान्न अभाव, आवतजावतमा कठिनाइ तथा अत्यावश्यक सामग्रीको आपूर्तिमा समस्या झेल्दै आएका छन्।
यसपटक पनि समयमै सडक सञ्चालनमा ल्याउन नसकिए स्थानीयको जनजीवन थप प्रभावित हुन सक्ने भएकाले हिउँ पन्छाउने कामलाई प्राथमिकता दिइएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्