काठमाडौं । फ्रान्सको प्रमुख सहकारी बैंक क्रेडिट म्युटुअल आर्किया (Crédit Mutuel Arkéa) साइबर आक्रमणको निशानामा परेको छ। ह्याकरहरूले बैंकको सेवा प्रदायक (Service Provider) को प्लेटफर्ममा पहुँच बनाएर बैंकको प्रणालीमा प्रवेश गरी करिब १३ करोड ३० लाख अमेरिकी डलर बराबरको रकम अनधिकृत रूपमा स्थानान्तरण गरेको खुलासा भएको छ।
साइबर सुरक्षा समाचार वेबसाइट ब्लिपिङ कम्प्युटरका अनुसार नोभेम्बर २ मा सार्वजनिक भएको घटनाबारे प्रारम्भिक जानकारी ब्लकचेन अनुसन्धानकर्ता जाकएक्सबीटी (ZachXBT) ले दिएका थिए। उनका अनुसार ह्याकरहरूले विभिन्न केन्द्रीयकृत क्रिप्टोकरेन्सी एक्सचेन्जका खाताबाट करिब ११ करोड ८० लाख युरो चोरी गरेका थिए। उक्त रकमलाई USDC र USDT जस्ता स्टेबलक्वाइनमा रूपान्तरण गरिएको आशंका छ।
अनुसन्धानकर्ताका अनुसार नोभेम्बर ३ सम्ममा चोरी भएको रकममध्ये करिब तीन करोड डलर बराबरको रकम अन्यत्र स्थानान्तरण गरी लुकाउने प्रयास गरिएको थियो।
बैंकले नोभेम्बर ४ मा सार्वजनिक वक्तव्य जारी गर्दै साइबर आक्रमण नियन्त्रणमा आइसकेको र सेवा क्रमशः सामान्य अवस्थामा फर्किरहेको जनाएको छ। बैंकका अनुसार आक्रमणकारीले ग्राहकको खातामा नभई बैंककै आफ्नै खातामा पहुँच बनाएर अन्य बैंकिङ संस्थातर्फ रकम स्थानान्तरण गरेका थिए। त्यसैले ग्राहकहरूको निक्षेप तथा व्यक्तिगत सम्पत्तिमा असर नपरेको बैंकको दाबी छ।
बैंकले चोरी भएको रकम ११ करोड ८० लाख युरो नै हो भन्ने पुष्टि नगरे पनि रकम ठूलो परिमाणको रहेको स्वीकार गरेको छ। केही रकम रोक्न सफल भएको पनि जनाएको छ।
घटनापछि बैंकले केही प्रणाली अस्थायी रूपमा बन्द गरेको थियो। यसका कारण निश्चित रकम स्थानान्तरण तथा भुक्तानी प्रक्रियामा ढिलाइ भएको थियो। बैंकले यस घटनामा मानवीय त्रुटिभन्दा पनि अत्यन्त परिष्कृत साइबर आक्रमण जिम्मेवार रहेको बताएको छ।
फ्रान्सका प्रहरी तथा न्यायिक निकायसँग मिलेर आक्रमणको स्रोत र कार्यविधिबारे अनुसन्धान भइरहेको बैंकले जनाएको छ। साथै, घटनापछि फिसिङ तथा नक्कली फोन र इमेलमार्फत ठगी हुन सक्ने जोखिम बढेको भन्दै ग्राहकलाई व्यक्तिगत विवरण नदिन र शंकास्पद सन्देशबारे बैंकसँग प्रत्यक्ष सम्पर्क गरी पुष्टि गर्न आग्रह गरेको छ।
क्रेडिट म्युटुअल आर्कियाका पाँच दशमलव आठ मिलियनभन्दा बढी सदस्य तथा २११ अर्ब युरोभन्दा बढीको सम्पत्ति रहेको छ। यस घटनाले बैंकको आफ्नै प्रणाली मात्र नभई त्यससँग जोडिएका बाह्य सेवा प्रदायकको साइबर सुरक्षासमेत कति महत्त्वपूर्ण छ भन्ने देखाएको छ।
प्रतिक्रियाहरू (०)
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!
आफ्नो प्रतिक्रिया छोड्नुहोस्