फोहोर फालेर भागे, पार्सल लिन बोलाउँदा आफ्नै फोहोर लिन आइपुगे !

insight dainik

काठमाडौं । सडकमा फोहोर फालेर हिँड्ने बानी परेका एक युवकलाई यसपटक भने आफ्नै फोहोरले धोका दिएको छ। बालाजुको अष्टनारायण हल नजिकै सडकमा फोहोर फालेर हिँडेका ती युवकलाई पठाओ पार्सलको स्टिकरले यस्तो फन्दामा पार्‍यो कि अन्ततः फोहोरको झोला आफैँ बोकेर घर फर्किनुपर्‍यो।

घटना यस्तो छ, बालाजु बाइपास क्षेत्रमा लामो समयदेखि रातारात सडकमा फोहोर फाल्ने क्रम चलिरहेको थियो। स्थानीय सोहित मानन्धरलाई भने सडकलाई कसैले आफ्नो घरको डस्टबिन ठानेको मन परेको थिएन।

सीसीटीभी राखेर निगरानी गर्दा पनि फोहोर फाल्नेको अनुहार स्पष्ट नदेखिएपछि उनले नयाँ तरिका अपनाए। बिहीबार एक युवकले फोहोरको झोला सडकमा फालेर हिँडे। तर, ती युवकले एउटा कुरा बिर्सिएछन्– फोहोरको झोलामा पठाओ पार्सलको स्टिकर पनि थियो।

स्टिकरमा नाम र मोबाइल नम्बर भेटिएपछि मानन्धरले ती युवकलाई फोन गरे। तर, ‘तपाईंले सडकमा फोहोर फाल्नुभएको छ, लिन आउनुस्’ भनेनन्। बरु दिदीको नाममा पार्सल आएको भन्दै बोलाए।

पार्सल लिन उत्साहित हुँदै पुगेका युवकले त्यहाँ पार्सल होइन, आफ्नै फोहोरको झोला देखेपछि एकछिन त अक्क न बक्क परे। सुरुमा झोला आफ्नो नभएको दाबी गरे पनि सीसीटीभी फुटेज र स्टिकरको प्रमाण अगाडि उनको बहाना टिकेन।

अन्ततः पार्सल लिन आएका युवकले फोहोरको झोला नै बोकेर फर्किनुपर्‍यो।

यो घटनाले एउटा नयाँ सन्देश दिएको छ– सडकमा फोहोर फालेर भाग्न सकिएला, तर फोहोरको झोलामा टाँसिएको पार्सल स्टिकरबाट भाग्न सकिँदैन !

अब बालाजुमा फोहोर फाल्नुअघि केहीले दुईपटक सोच्ने भएका छन्। किनकि त्यहाँ पार्सल डेलिभरी मात्र होइन, फोहोरको होम डेलिभरी पनि हुन थालेको छ!

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्