एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखभन्दा बढीको कारोबार

insight dainik

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितालाई लक्षित गरी अनलाइन सट्टेबाजी सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहारस्थित भोजपुर टाउन प्रहरी क्षेत्रका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन्। उनी काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी एनपीएलको तेस्रो संस्करणका खेललाई लक्षित गरी केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा सट्टा लगाउने व्यवस्था मिलाइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटमार्फत कुल ८९ लाख ८१ हजार ७२९ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको खुलेको छ।

एनपीएलजस्तो लोकप्रिय क्रिकेट प्रतियोगिताका खेललाई आधार बनाएर अनलाइन सट्टेबाजी भइरहेको सूचनापछि प्रहरीले निगरानी र अनुसन्धान तीव्र बनाएको जनाएको छ।

पक्राउ परेका सिन्हालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ। नेपालमा प्रचलित कानुनअनुसार जुवा तथा सट्टेबाजी निषेधित गतिविधि हुन्।

एनपीएलको लोकप्रियता बढ्दै जाँदा प्रतियोगिताका खेललाई आधार बनाएर अनलाइन सट्टेबाजी हुन सक्ने जोखिमप्रति प्रहरीको निगरानी बढेको यस घटनाले देखाएको छ।

प्रतिक्रियाहरू (०)

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया पोस्ट गर्नुहोस्!

आफ्नो प्रतिक्रिया छोड्नुहोस्